नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज हस्ताक्षर बुझाइएको छ । पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज दिउँसो हस्ताक्षर बुझाएको छ । केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार ४८८ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका छन् ।
विभिन्न कारणले १९० जना महाधिवेशन प्रतिनिधि नभएको जानकारी दिँदै उहाँले ५२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरेका छन् । ७७ जिल्ला र विदेश क्षेत्रबाट हस्ताक्षर सङ्कलन गरिएको उनको भनाइ छ । कांग्रेसको नियमित महाधिवेशन आगामी मङ्सिरमा गर्नुपर्ने भए पनि महाधिवेशनको टुङ्गो नलागेपछि विशेष महाधिवेशनको माग भएको हो । कांग्रेसको विधान अनुसार एक वर्ष अवधि थप गर्न सकिने व्यवस्था छ ।
विशेष महाधिवेशन बोलाउने वा नियमित महाधिवेशन गर्ने भन्ने निर्णय बिहीबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ । पार्टी सभापति शेरबहादुर देउवाले हिजो मात्र उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए ।