आउँदो मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ४ पदमा हुने उपनिर्वाचनका लागि तयारी तीव्र गतिमा भइरहेको छ । आयोगले सुरुमा स्थानीय तहका ३९ पदका लागि मात्र तयारी गरेको थियो । तर, त्यहीबीचमा थप ५ पद पनि रिक्त भएपछि आयोग ती समेत गरी ४४ पदको निर्वाचनमा जुटेको छ ।
आयोगका अनुसार कोशी प्रदेशमा ९, कर्णाली प्रदेशमा ८, मधेस प्रदेशमा ७, बागमती प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ६, सुदूरपश्चिममा ६ र गण्डकी प्रदेशमा १ पदमा स्थानीय निर्वाचन हुँदैछ ।
मोरङको रामग्राम नगरपालिकामा अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष, काठमाडौँको कीर्तिपुर नगरपालिकामा प्रमुख, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष, दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, कैलालीमा जिल्ला समन्वय समिति प्रमुखका लागि उपनिर्वाचन हुँदैछ । अन्य भने वडा अध्यक्ष र सदस्यको निर्वाचन हुनेछ ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ३ का अध्यक्षले राजीनामा दिएकाले आयोगले कात्तिक ११ गतेको निर्णयबाट उपनिर्वाचन गर्ने निर्णय गरेको छ । त्यही मितिको निर्णयले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा पनि अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । त्यस वडाका वडाका अध्यक्षको निधन भएको थियो ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष, रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षको उपनिर्वाचन हुनेछ । ती स्थानीय तहका जनप्रतिनिधिको निधन भएपछि आयोगको कात्तिक १ गतेको निर्णयबाट उपनिर्वाचन हुने भएको हो । अन्य स्थानीय तहमा वडा सदस्यहरुको निर्वाचन हुँदैछ ।