Connect with us

अर्थ

अर्थमन्त्रीसँग भारत र चीनका राजदूतको भेट

Published

on

अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारत र जनगणतन्त्र चीनका का राजदूत क्रमशः नवीन श्रीवास्तव एवम् चेङ्ग सोङ्गले आज छुट्टाछुटै भेट गरेका छन् । भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बिचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे।

अर्थमन्त्री खनालले नेपालमा विद्यमान परिस्थितिका कारण सृर्जित विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता राखे। भेटका अवसरमा भारतीय राजदूतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुकबिच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको बताएका थिए ।

भारतीय राजदूतले आफूहरुका्े सहयोगमा सञ्चालन भएका विकास आयोजना र कार्यक्रमहरूमा तीव्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्रसमेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताएका छन् । भेटमा नेपाल भारतबिचको व्यापार सहजीकरणका लागि दुबै पक्षबिच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

त्यसैगरी, चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

भेटका अवसरमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए । उक्त अवसरमा मन्त्री खनालले नेपाल र चीन बैँकिङ क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैँकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदुत सोङ्गलाई अनुरोध गरेका थिए ।

अर्थ मन्त्रालयका सह–सचिव एवं प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार, उक्त भेटमा राजदूतले चीनले नेपाली जनताको छनोटलाई सधैँ सम्मान गर्दै आएको उल्लेख गर्दै विगतको सहयोग निरन्तर रहने बताए ।

चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधीन परियोजनाहरू सन्तोषजनक रूपले अगाडि बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकुल भएपछि चिनियाँ लगानीकर्तासँगको छुट्टै अन्तर्क्रिया गरिने समेत जानकारी दिएका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.