अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका छन् । यसअघि आज मंगरबार युद्धविराम समाप्त हुने भनिएको थियो । ट्रम्पले युद्धविराम लम्ब्याउने सम्भावना निकै कम रहेको बताएका छन् । यो युद्धविराम दुई हप्ताको थियो, जुन बुधबार अप्रिल २२ मा अन्त्य हुँदै छ । दुवै पक्षबीच कुनै सम्झौता भएन भने लडाइँ तुरुन्तै पुनः सुरु हुन सक्ने ट्रम्पको भनाइ छ ।
ट्रम्पले इरानलाई छिटो सम्झौता गर्न दबाब दिइरहेका छन् । उनले ब्लूमबर्गलाई फोनमार्फत दिएको अन्तर्वार्तामा आफूले कुनै पनि खराब सम्झौतामा हतार नगर्ने बताएका छन् । ट्रम्पले पाकिस्तानको इस्लामाबादमा हुने शान्ति वार्ताबाट आफूले अपेक्षा राखेको कुरा पनि बताएका छन् । यद्यपि, इरानले वार्तालाई अस्वीकार गरिसकेको छ । उनले ग्यासको मूल्यका विषयमा पनि कुरा गरेका छन् । साथै, ट्रम्पले युद्ध अन्त्य गर्नका लागि इरानका नयाँ नेताहरूलाई व्यक्तिगत रूपमा भेट्न तयार रहेको बताएका छन् ।
ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, “इरान युद्धमा अद्भुत नतिजाहरू आउनेवाला छन् । यदि इरानका नयाँ नेताहरू समझदार छन् भने इरानको भविष्य धेरै राम्रो र समृद्ध हुन सक्छ !”