Connect with us

राजनीति

एमालेको ११ औं महाधिवेशन मङ्सिर २७ देखि २९ सम्म पोखरामा गर्ने प्रस्ताव

Published

on

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकताको आवश्यकता भएकाले त्यहीअनुसार काम गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन् । साथै उनले आजबाट सुरु केन्द्रीय समितिको १० औँ बैठकमा मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औँ महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँँ केन्द्रीय कमिटी बैठकको सुरुमै राजनीतिक प्रतिवेदन पेश गर्दै उनले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने खालको पार्टी नभएको स्पष्ट पारे ।

एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह पनि गरे ।

“पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीका साथ नेतृत्व छाड्न तयार छु । तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ, सामाजिक सञ्जालमा कसैले भन्दैमा नेतृत्व छाड्ने होइन”, अध्यक्ष ओलीले थपे, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो । कमिटीले भनेका बेला एकदम खुसीका साथ नेतृत्व छोड्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन ।”

अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान समेत गरे । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले पार्टीको ११ औं महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरेका थिए ।

केन्द्रीय कमिटी बैठकमा सो प्रस्तावबारे ठोस निर्णय हुनेछ । बैठक असोज ३१ गतेसम्म सञ्चालन हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको भनाइ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.