आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको जारी सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दल र सरकारका प्रतिनिधिहरूले पालैपालो आफ्नो धारणा राखिरहेका छन्।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार छलफल आगामी निर्वाचनमा केन्द्रित छ। सबैले निर्वाचनमा केन्द्रित भएर आफनो धारणा राखिरहेको उनले जानकारी दिए । दलहरूबीच चुनावमा जाने कुरामा स्पष्ट सहमति देखिएको खरेलले बताए । दलका नेताहरुले सरकारले चुनावका लागि सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिएका खरेलको भनाइ छ ।
नेकपा एमालेले आफनो धारणा राख्ने क्रममा सरकारले चुनाव सफलतापूर्वक गर्न सक्दैन कि सक्दैन भन्ने आशंका व्यक्त गरेको छ । तर चुनावको विरोध नगरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।
१० दल सहभागी बैठकमा पहिलो चरणमा शंकर पोखरेल, पम्फा भुसाल, प्रेम सुवाल, राजेन्द्र गुरुङ, गगन थापा, स्वर्णिम वाग्ले, रेशम चौधरी, चन्दन सिंह, राजेन्द्र पाण्डे, उपेन्द्र यादवले आ(आफ्नो धारणा राखेका थिए ।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् ।
त्यसैगरी छलफलमा नेपाली कांग्रेसबाट गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा ९एमाले०बाट शङ्कर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा ९माओवादी केन्द्र०बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा ९एकीकृत समाजवादी०बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी छन् ।