जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) रातिदेखि देशका विभिन्न भू-भागमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो विशेष बुलेटिन जारी गर्दै रातिदेखि पर्सी (बुधबार) बिहानसम्म देशका विभिन्न भू-भागमा वर्षासँगै हिमतपात हुने सम्भावना रहेको जनाएको हो ।
महाशाखाले दिएको जानकारी अनुसार विशेष गरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा आजरातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ। साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहण, कृषि, पर्यटन लगायत क्षेत्रमासमेत असर पर्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।