निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन् । आयोगले आज आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलन गर्दै उक्र जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थियो भने अहिले पनि त्यति नै संख्यामा दल दर्ता कायम रहेका छन् ।
भट्टराईका अनुसार यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटै नयाँ दलले प्रमाणपत्र पाएका छन् । एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएको र बाँकी ६ दल नेतृत्वको आग्रहमा खारेज गरिएको भट्टराईले बताएका छन् । उनका भनाइमा यसबेला २८ वटा दल दर्ता प्रक्रियामा छन् ।
सरकारले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वचन मिति घोषणा गरेको थियो । प्रवक्ता भट्टराईले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरू निर्वाचनमा सहभागी पाउने जानकारी उनले दिएका छन् ।
भट्टराइको भनाइ छ,, हामीले मुख्य दुई वटा कामहरु गरिरहेका छौं । एउटा दल दर्ता र अर्को मतदाता नामावलीमा नाम दर्ता गर्ने काम समेत भइरहेको छ । यो बीचमा राजनीतिक दल दर्ता हुने क्रम पनि बढिरहेको छ । र, खारेज हुने क्रम पनि जारी छ । उनले मतदाता नामावलीमा नाम संकलनको कार्य मंसिर पाँच गतेसम्म जारी रहने बताएका छन् ।
हिजो शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या दुई लाख रहेको प्रवक्ता भट्टराईको भनाइ छ ।