Connect with us

राजनीति

मतदानमै आएनन् एमालेका ५३ प्रतिशत संगठित सदस्य

Published

on

२७ मंसिरदेखि हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न भएको निर्वाचनमा धनुषा २ मा १.३६ प्रतिशत संगठित सदस्य मात्रै मतदानमा सहभागी भए, सबैभन्दा धेरै झापा ३ र सुनसरी ३ मा ७८ प्रतिशत मत खस्यो, औसत ४७ प्रतिशत कार्यकर्ता मात्रै निर्वाचनमा सहभागी भए

२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको आन्तरिक निर्वाचनमै भोट दिन उपस्थित भएनन् ।

१६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट कार्य आइतबार भएको थियो । त्यसमध्ये ५८ क्षेत्रमा मात्रै मतदान प्रक्रियामार्फत प्रतिनिधि चुनिएकामा मतदाताको उपस्थिति भने निराशाजनक देखिएको हो । धनुषा २ मा त १.३६ प्रतिशत मात्रै मतदानमा सहभागी भए । जबकि यो क्षेत्रमा १३ हजार १७८ मतदाता (संगठित सदस्य) थिए, तर १८० जना मात्रै मतदानमा सहभागी भए । त्यस्तै, झापा ३ मा सबैभन्दा धेरै ७८.३३ प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा दुई हजार ४१८ मतदाता रहेकामा एक हजार ८९४ ले मतदान गरेका हुन् । देशभर मतदान भएका ५८ क्षेत्रका कुल संगठित सदस्यमध्ये औसत ४६.९९ प्रतिशत मात्रै भोट दिन उपस्थित भए ।

१.३६ प्रतिशत मात्रै मत खसेको धनुषा २ का एमाले क्षेत्रीय अध्यक्ष जामुन यादव सुरुदेखि सर्वसम्मतिको प्रयास भएको, तर अन्तिममा मतदान प्रक्रिया भएकाले कम मत खसेको बताउँछन् । ‘हाम्रो क्षेत्रमा संगठित सदस्य १३ हजार १७८ हो । तर, सर्वसम्मतबाट प्रतिनिधि छान्ने तयारी भएकाले तीन हजारजति मात्रै उपस्थित थिए । अन्तिममा संगठित सदस्य उमाशंकर साहले माग गरेपछि मतदान प्रक्रिया सुरु भएको थियो । तर, बिचैमा उहाँ मतदान छाडेर हिँडेपछि फेरि भोटिङ प्रक्रिया रोकियो । त्यतिवेलासम्म १८० मत खसेको थियो । साहजी हिँडेपछि फेरि सहमतिमै प्रतिनिधि चयन गर्ने निर्णय गर्‍यौँ । तर, निर्वाचन अधिकृतले खसेको मत काउन्ट गर्ने भनेपछि त्यही १८० मत गनिएको हो,’ उनले भने ।

औरही गाउँपालिका अध्यक्षसमेत रहेका साह भने प्रतिनिधि छनोटमा धाँधली भएको आरोप लगाउँछन् । ‘संगठित सदस्यलाई खबरै नगरी सो क्षेत्रका नेता उमाशंकर अरगरिया र प्रदेशमन्त्री लखन दासले मिलेमतोमा प्रतिनिधि छनोट गरेका हुन्,’ उनले भने, ‘मैले नाम मात्रैको मतदानको विरोध गर्दा सुनुवाइ नभएपछि बहिष्कार गरेर घर आएको हुँ ।’

३२ निर्वाचन क्षेत्र रहेको मधेशमा जम्मा ६ निर्वाचन क्षेत्र (सिराहा १, धनुषा २, रौतहट ४, बारा २ तथा महोत्तरी १ र ४) मा मात्रै मतदान भयो । जसमध्ये बारा २ मा मात्रै ५०.६१ प्रतिशत मत खसेकोमा अन्य पाँच क्षेत्रमा ५० प्रतिशतभन्दा कम खसेको छ । मधेशमा औसत ३०.२५ प्रतिशत मात्रै मतदान भएको छ । एमाले धनुषाका सचिव दीपेन ठाकुरले मतदाता कम उपस्थित भएकाले भोट कम खसेको जवाफ दिए ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दीपेश घिमिरे पुरानै नेतृत्वलाई वैधता दिने एमाले महाधिवेशनको प्रयोजन निश्चित भएकाले कार्यकर्ताको ठुलो हिस्साले मतदानमार्फत असहमति जनाएको बताउँछन् । ‘तिमीले लिएको नीतिप्रति सहमति छैन । सदस्यता त लिएको छु, तर तिमीलाई चुन्न आउँदिनँ भनेर कार्यकर्ताले ‘इग्नोर’ गरेको देखिन्छ । एक किसिमले यो मौन विद्रोहजस्तो हो,’ उनले भने, ‘कार्यकर्तामा घटेको उत्साहलाई समयमा समीक्षा गरेर अगाडि बढेनन् भने दलहरूले झन् ठुलो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।’

मधेशमा मात्रै होइन, अन्य प्रदेशमा पनि अवस्था उस्तै छ । कर्णालीमा १२ निर्वाचन क्षेत्र रहेकामा मतदान प्रक्रिया रुकुम पश्चिममा मात्रै भयो । त्यसमा पनि १७.२३ प्रतिशत मात्रै मत खस्यो । १८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा पनि ६ ठाउँमा मात्रै निर्वाचन भयो, तर कुनैमा पनि ५० प्रतिशत मत कटेन । गण्डकीमा औसत ४२.१३ प्रतिशत मतदान भएको छ । त्यस्तै, १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा पनि तराईका पाँच निर्वाचन क्षेत्रमा मात्रै मतदान प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि चुनियो । तर, कुल मतदाताको ४१.५५ प्रतिशत मात्रै मतदानमा सहभागी भए । सबैभन्दा कम कैलाली ४ मा २८.१० प्रतिशत र सबैभन्दा बढी कञ्चनापुर १ मा ५०.७९ प्रतिशत मत खसेको छ ।

काठमाडौं उपत्यकासमेत समेटिने बागमती प्रदेशमै मतदाताको उत्साहजनक सहभागिता देखिएन । ३३ निर्वाचन क्षेत्र रहेको बागमतीमा १४ क्षेत्रमा मतदानबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । जसमा औसत ४६.०९ प्रतिशत मात्रै मत खसेको छ । सबैभन्दा कम मकवानपुर १ मा २६.३ प्रतिशत र सबैभन्दा धेरै काठमाडौं १ मा ६१.८० प्रतिशत मत खसेको छ ।

लुम्बिनीमा पनि मतदान उत्साहजनक छैन । २६ निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा मात्रै मतदान प्रक्रियाबाट प्रनिनिधि छनोट भएकामा उक्त प्रक्रियामा औसत ४०.३६ प्रतिशत मात्र सहभागी भए । सबैभन्दा कम पाल्पा १ मा कुल मतदाताको १३.६४ प्रतिशत मात्रै मत खस्यो भने सबैभन्दा बढी नवलपरासी पश्चिम २ मा ६१.५७ प्रतिशतले मतदान गरे । रुपन्देही २ मा ३१.७५ प्रतिशत मत खस्यो ।

एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले सर्वसम्मतको प्रयास गर्दा मत कम खसेको तर्क गरे । ‘सर्वसहमतिको प्रयासको असरका कारण महाधिवेशन प्रतिनिधि छनोटमा मत कम खसेको हो । यहाँका मतदाता धेरै बाहिर हुनुहुन्छ, यहाँ सर्वसम्मतको प्रयास जारी थियो, सर्वसम्मत होला भनेर धेरै आउनुभएन, तर पछि निर्वाचनमा जाने भएपछि सूचना प्रवाह गर्दा ढिला भइसकेकाले बाहिर रहेका मतदाता आउन सक्नुभएन,’ उनले भने ।

२८ निर्वाचन क्षेत्र रहेको कोशीमा १९ क्षेत्रमा निर्वाचनबाट प्रतिनिधि छानिए । कोशीमा औसत ५९.९० प्रतिशत मत खसेको छ, जुन औसतमा अन्य प्रदेशको तुलनामा भने धेरै हो । कोशीमा सबैभन्दा कम ओखलढुंगामा २१.२७ प्रतिशत मत खसेकोमा सबैभन्दा बढी झापा ३ मा ७८.३३ प्रतिशत मत खस्यो ।

एमाले झापाका अध्यक्ष प्रेम गिरीले संकटका वेला कार्यकर्तालाई पार्टी खोज्ने बनाएर कर्तव्यमुखी बनाउन खोज्दा केही कम मत खसेको बताए । तर, मत हाल्न नआउनेहरू चुकेका कारण पश्चत्ताप गरिरहेको उनले बताए । ‘पहिले एक हप्तासम्म उम्मेदवार भोट माग्न आउने, कुरा सुन्ने थियो । यसपटक कार्यकर्ताले कर्तव्य कति पूरा गर्दोरहेछ भन्ने उद्देश्यले उर्दी पनि गरेनौँ, तर सूचना गर्‍यौँ । विगतमा ६३ प्रतिशतभन्दा माथि मत खस्थ्यो । यसपटक ५५ देखि ६० प्रतिशत खसेको छ, कमचाहिँ हैन,’ उनले भने, ‘१५–२० प्रतिशत मतदाता भूगोलबाहिर पनि हुन्छन् ।’

काठमाडौं विश्वविद्यालयका डिन डा. उद्धव प्याकुरेल महाधिवेशन प्रनिनिधि छनोट प्रक्रियामै संगठित कार्यकर्तामा उत्साह नहुनुले पार्टी नेतृत्वको वैधता गुमेको बताउँछन् । ‘जसरी ओली बालुवाटारबाट निस्केर बाहिर बस्दा सडकमा कार्यकर्ता आएनन्, गुन्डुमा केही स्वार्थ समूहले मात्रै बोक्यो । यो भनेको नेतृत्वले वैधता गुमाइसकेको हो । त्यही नेतृत्व नै फेरि बहाली हुन्छ भन्ने भएपछि कार्यकर्तामा उत्साह भएन । प्रतिनिधि छनोटको निर्वाचनमा जति सहभागिता देखियो, त्यो पनि धेरै हो,’ उनले भने ।

त्यस्तै, राजनीतिक विश्लेषक झलक सुवेदी पार्टी नेतृत्व र सदस्यबिच दूरी बढेको देखिएको बताउँछन् । ‘नेपाली राजनीतिमा पार्टीको विचार, नीति र नेताप्रति विश्वास कमजोर भइरहेको छ । भुइँमा के भएको हो, पार्टीको नेतृत्वले सकेसम्म सहमति हुन्छ, भोट हाल्न आउनुपर्दैन भन्ने सूचना प्रवाह गरेको हो कि, नेतृत्व, स्थानीय कार्यकर्ता र सदस्यबिच संवाद टुटेको छ कि, पछिल्लो परिवर्तनपछि पार्टीसँग निरपेक्ष भएको हो कि ? जे भए पनि पार्टी नेतृत्व र सदस्यबिचमा दूरी बढेको देखिन्छ,’ उनले भने, ‘पार्टीका विचार, नीति र नेताप्रति विश्वास कमजोर भएको होला । आमकार्यकर्ता र सदस्यलाई मतको निर्णय गर्ने अधिकार नदिएर दुई–चार नेताले खेलाउने, दबाब सिर्जना गरेर आफ्नो अधिकार ‘एक्सरसाइज’ गर्न नदिने प्रवृत्तिले वितृष्णा पनि बढाएको होला ।’

एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी केही ठाउँमा मात्र मतदान कम भएको बताउँछन् । ‘सबैतिर कम मतदान भएको भन्ने पनि होइन । धेरै ठाउँमा सर्वसम्मतिले प्रतिनिधि छानिए । जहाँ चुनाव भयो तीमध्ये कतिपय ठाउँमा टाढा–टाढाबाट सदस्य आउनुपर्ने भएको हुनाले मतदानमा कम सहभागिता हुन सक्छ,’ उनले भने ।

कुन प्रदेशमा कहाँ–कहाँ निर्वाचन भयो, कहाँ सर्वसम्मत ?
१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा कञ्चनपुरका दुई र कैलालीका तीन निर्वाचन क्षेत्रमा मात्र चुनाव भएको छ । कञ्चनपुर २, कैलाली २ र ३, अछामका दुईवटै, दार्चुला, डडेल्धुरा, बैतडी, बाजुरा, बझाङ र डोटीमा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये रुकुम पश्चिममा मात्र निर्वाचन भएको छ । दुई–दुई निर्वाचन क्षेत्र रहेका सुर्खेत र दैलेख तथा एउटा निर्वाचन क्षेत्र रहेका कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रोल्पा, मुगु र जाजरकोटमा सर्वसम्मत प्रतिनिधि चुनिए ।

२६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा सात क्षेत्रमा मात्र चुनाव भएको छ । पूर्वी रुकुम, रोल्पा, प्युठान, बर्दिया, कपिलवस्तु, दाङ, बाँके र गुल्मीका सबै तथा रुपन्देही ३ र ४ मा निर्विरोध रूपमा प्रतिनिधि चुनिए ।

१८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा कास्की, बाग्लुङ, स्याङ्जा, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङका सबै तथा तनहुँ २ मा सर्वसम्मत प्रतिनिधि चयन गरिए ।

२८ निर्वाचन क्षेत्र रहेको कोशीमा १९ क्षेत्रमा निर्वाचनबाट प्रतिनिधि छानिएका छन् । झापाका पाँचवटै, सुनसरीका तीनवटै र उदयपुरका तीनवटै निर्वाचन क्षेत्रमा चुनावबाट प्रतिनिधि छानिएका छन् । मोरङमा ६ मध्ये क्षेत्र नम्बर ५ बाहेक सबैमा चुनाव भएको छ । त्यस्तै, एउटा–एउटा निर्वाचन क्षेत्र रहेका संखुवासभा र धनकुटामा पनि निर्वाचनबाट प्रतिनिधि चयन भएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र भोजपुरमा भने सर्वसम्मतमा प्रतिनिधि छानिएको छ । खोटाङमा जिल्ला कार्यसमितिले सर्वसम्मत १० प्रतिनिधि छाने पनि असन्तुष्ट पक्षले निर्णय सच्याउन माग गर्दै केन्द्रीय संगठन विभागमा उजुरी दिएको छ । कोशी प्रदेश समिति लेखा आयोगका सचिव ओमप्रकाश घिमिरेलगायत युवा नेताले हस्ताक्षर गरेको उजुरीमा केन्द्रीय नेताहरूले आफ्नो गोजीका व्यक्तिलाई प्रतिनिधि बनाएको भन्दै निर्णय सच्याउन माग गरेका छन् ।

त्यस्तै, ३२ निर्वाचन क्षेत्र रहेको मधेशमा ६ वटा निर्वाचन क्षेत्रमा चुनाव भएको छ । महोत्तरी १ र ४ मा चुनाव भएको छ भने ३ मा मंगलबार चुनाव हुँदै छ । त्यस्तै, सिराहा १, धनुषा २ र बारा १ मा चुनावबाट प्रतिनिधि चयन भएका छन् । चार निर्वाचन क्षेत्र रहेको रौतहटमा क्षेत्र नम्बर ४ मा मात्र चुनाव भएको छ । सप्तरी, पर्सा र सर्लाहीका चार–चारवटै निर्वाचन क्षेत्रमा सहमतिबाट प्रतिनिधि टुंग्याइएको छ । सिराहा र बाराका तीन–तीन र धनुषाका तीनवटामा पनि सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ ।

बागमतीमा काठमाडौं उपत्यकाका १५ बाहेक १८ निर्वाचन क्षेत्रमध्ये तीनवटामा निर्वाचन भएको छ । सिन्धुपाल्चोकका दुईवटै र मकवानपुरका दुईमध्ये निर्वाचन क्षेत्र १ मा चुनावबाट प्रतिनिधिको टुंगो लागेको हो । सिन्धुलीमा दुईमध्ये निर्वाचन क्षेत्र १ मा भने सहमतिको प्रयास जारी नै रहेकाले टुंगिएको छैन । यसबाहेक चितवन, रामेछाप, काभ्रे, दोलखा, नुवाकोट, धादिङ र रसुवामा सर्वसम्मत रूपमा प्रतिनिधि चुनिएका छन् ।

कसरी छानिए प्रतिनिधि ?
एमालेमा सम्पर्क विशेषसहित आठ प्रदेश, ३२ विभाग, २४ जनसंगठन, १६५ निर्वाचन क्षेत्र, सल्लाहकार कमिटीसहित चार केन्द्रीय निकाय, चार विशेष जिल्ला कमिटी, सात प्रदेशका मजदुर क्षेत्र, भारत प्रवास, युरोप, एसिया, मध्यक्षेत्र जिल्ला कमिटी र केन्द्रीय कार्यालयबाट प्रतिनिधि छनोट हुने प्रावधान छ । यसैअनुसार पदेन र मनोनीतबाहेक ६ लाख ७० हजार सदस्यबाट कम्तीमा साढे १६ सय प्रतिनिधि भूगोलको निर्वाचन क्षेत्रसहित विभिन्न स्थानबाट चुनिएका छन् । पदेन र मनोनीतसहित एमालेमा दुई हजार दुई सयहाराहारी महाधिवेशन प्रतिनिधि हुनेछन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक हजार दुई सयसम्म पार्टी सदस्यबराबर चारजना प्रतिनिधि छानिएका छन्, जसमा ४० वर्षमुनिका एक युवा र कम्तीमा एकजना महिला छन् । कुनै निर्वाचन क्षेत्रमा न्यूनतम एक हजार दुई सयभन्दा अरू आठ सय सदस्य थपिए थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप आठ–आठ सय सदस्यमा खुला प्रतिनिधि एक–एकजना छानिने मापदण्ड छ । त्योभन्दा धेरै त्यही अनुपातमा पहिलो आठ सयमा महिला र अन्यमा खुला निर्वाचित प्रतिनिधि छानिने व्यवस्था छ । विशेष जिल्लामा एक हजार दुई सयजना पार्टी सदस्यबराबर कम्तीमा एक महिलासहित तीन प्रतिनिधि छानिएका छन् ।

दलित प्रतिनिधिका रूपमा भूगोलका जिल्लाअन्तर्गत पाँच सयसम्म दलित पार्टी सदस्यबाट कम्तीमा एकका दरले प्रतिनिधि निर्वाचित भएका छन् । मजदुर प्रतिनिधि चयनका लागि भूगोलका सात प्रदेशअन्तर्गत कार्यरत श्रमिक पार्टी सदस्यबाट कम्तीमा तीन महिलासहित सातजनाका दरले ४९ जना, भारत प्रवास विशेष निर्वाचन क्षेत्रबाट कम्तीमा तीन महिलासहित १० र बाँकी प्रवासका पाँचवटा विशेष निर्वाचन क्षेत्र ९अमेरिका–क्यानडा, युरोप, एसिया–प्यासिफिक, खाडी र ओसिनिया०बाट प्रत्येक क्षेत्रमा दुई महिलासहित पाँचजनाका दरले ३५ जना प्रतिनिधि छनोट भएका छन् ।

केन्द्रीय विभागबाट ३२ जना, केन्द्रीय कार्यालयबाट एकजना प्रतिनिधि चुनिएका छन् । २४ जनसंगठनमध्ये जनसंगठन र महासंघका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यमध्ये कम्तीमा तीन महिलासहित सातजनाका दरले र जनसंगठनबाट दुई महिलासहित पाँचजनाका दरले १३७ प्रतिनिधि छानिएका छन् ।

१.३६ प्रतिशत मात्रै मत खसेको धनुषा २ को निर्वाचनबारे एमाले धनुषाका सचिव दीपेन ठाकुर भन्छन्–

मतदाता रहेका संगठित सदस्य नै कम उपस्थित भएपछि कसरी धेरै मत खस्थ्यो ? मत कम नै खस्यो । जति उपस्थित भए उनीहरूलाई मतदानमा सहभागी गरायौँ र उनीहरूकै मतका आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्‍यौँ ।

समाजशास्त्री डा. दीपेश घिमिरे भन्छन्–एक किसिमले यो कार्यकर्ताको मौन विद्रोह हो
दलहरूको रूपान्तरण र पुस्तान्तरणका लागि बदलिँदो परिस्थितिमा जुन अपेक्षा थियो, त्यो अहिलेको कार्यशैली र आउने दिनमा नहुने निश्चित हुँदा वितृष्णा देखिएको छ । अब कार्यकर्ताले पनि स्वतन्त्र भएर हेर्न थालिसकेका छन् । हिजोको दिनमा पार्टी सदस्य विचारबाट निर्देशित थियो । तर, उसको अपेक्षालाई त्यो विचार र नेतृत्वले सम्बोधन गर्दैन भन्ने लागेर स्वतन्त्र विचारको आँखाबाट आफूलाई प्रस्तुत गर्न थालेको छ ।

पुरानै नेतृत्वलाई वैधता दिने एमाले महाधिवेशनको प्रयोजन निश्चित भएकाले पनि कार्यकर्ताको ठुलो हिस्साले मतदानमार्फत असहमति जनाएको देखिन्छ । नेतृत्व न नीति कुनै बदलिने देखिँदैन । पार्टीको महाधिवेशन हुने वेला झन् उत्साह हुनुपर्ने हो । नेतृत्व चुन्नु, चाहेको नेतृत्व बनाउनु ठुलो कुरा हो । तर, नेतृत्व र नीति केही नबदलिने भएपछि त्यसको साक्षी किन बन्ने भन्ने मनोविज्ञानले पनि काम गरेको हुन सक्छ । कार्यकर्ता यथास्थितिको साक्षी बस्न त्यति इच्छुक नभएको जस्तो देखिन्छ । हरेक तहमा आफूले बेवास्ता गरेर अनदेखा गर्ने, सहभागी नहुने र बाहिरिने शैली पनि कार्यकर्तामा देखिएको छ । तिमीले लिएको नीतिप्रति सहमति छैन, सदस्यता त लिएको छु, तर तिमीलाई चुन्न आउँदिनँ भनेर ‘इग्नोर’ गरेको देखिन्छ । एक किसिमले यो मौन विद्रोहजस्तो हो । कार्यकर्तामा घटेको उत्साहलाई समयमा समीक्षा गरेर अगाडि बढेनन् भने दलहरूले झन् ठुलो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।

राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्–पार्टी नेतृत्व र सदस्यबिचमा दूरी बढेको देखियो
नेपाली राजनीतिमा पार्टीको विचार, नीति र नेताप्रति विश्वास कमजोर भइरहेको छ । भुइँमा के भएको हो रु पार्टीको नेतृत्वले सकेसम्म सहमति हुन्छ, भोट हाल्न आउनुपर्दैन भन्ने सूचना प्रवाह गरेको हो कि रु नेतृत्व, स्थानीय कार्यकर्ता र सदस्यबिच संवाद टुटेको छ कि रु पछिल्लो परिवर्तनपछि पार्टीसँग निरपेक्ष भएको हो कि रु जे भए पनि पार्टी नेतृत्व र सदस्यबिचमा दूरी बढेको देखिन्छ । पार्टीका विचार, नीति र नेताप्रति विश्वास कमजोर भएको होला । आमकार्यकर्ता र सदस्यलाई मतको निर्णय गर्ने अधिकार नदिएर दुई–चार नेताले खेलाउने, दबाब सिर्जना गरेर आफ्नो अधिकार ‘एक्सरसाइज’ गर्न नदिने प्रवृत्तिले वितृष्णा पनि बढाएको होला ।
यम बम नयाँ पत्रिका

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.