‘कुलमान र बालेन आउँदैछन् भनेर रास्वपाले शक्ति विस्तार गर्न खोजेको आशंका, बालेनमाथि पनि धोकाको संभावना
उज्यालो नेपाल पार्टीले आफ्नो अस्तित्व मासेर कुनै पार्टीसँग एकतामा नजाने निष्कर्ष निकालेको छ। आज बसेको केन्द्रीय समिति बैठकले आत्मसमर्पण गरेर कुनै पार्टीसँग एकतामा नजाने निष्कर्ष निकालेको एक नेताले बताए।
रास्वपासँग एकताका लागि सभापति, प्रधानमन्त्रीको उम्मेदवार पार्टीले लिगेसी (नाम वा चुनाव चिन्ह) हुनुपर्ने प्रस्ताव अघि सार्दा कुनै कुरामा सहमत हुन नसकेको जानकारी कुलमानले बैठकलाई गराएका थिए । कुलमान यसबेला उज्यालो नेपाल पार्टीको संरक्षकको जिम्मेवारीमा छन् ।
उनले बैठकमा भनेका छन्, ‘रास्वपाको उद्देश्यले कुलमान र बालेन पनि आउँदैछ भनेर माहोल बनाउने, पार्टीमा जनमत बढाउने तर अस्तित्व स्वीकार नगर्ने देखियो।’ बैठकमा अधिकांश नेताहरूले अस्तित्व स्वीकार नभए एक्लै चुनावमा जानुपर्ने मत राखेका छन्। एक्लै चुनावमा जाँदा यस पटक कि सिकिन्छ कि जितिन्छ भन्ने उनीहरूको बुझाइ छ। कुलमानले बैठकमा रास्वपाले बालेनलाई समेत धोका दिनसक्ने आशंका व्यक्त गरे।
बैठकमा उनले भने, ‘बालेनले रविसँग ५ वर्ष प्रधानमन्त्रीको ग्यारेन्टी मागेका छन्। त्यो रास्वपाबाट स्वीकार भएको छैन। बालेनमाथि पनि रास्वपाबाट धोका हुनसक्छ। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय अहिलेसम्म गरेको छैन।’
बैठकले सबैको सहअस्तित्वलाई स्थापित हुने गरी एकताको पक्षमा रहेको र आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि गरेको छ। एकताको संवाद गर्न पार्टीका अध्यक्षलाई अधिकार दिएको छ।