भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजको एउटा गोप्य भिडियो ‘लिक’ भएको छ । उक्त भिडियोमा रोड्रिगेजले अमेरिकाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्दा उनी र उनको क्याबिनेट सदस्य (मन्त्रीहरू) लाई निर्णय लिन मात्र १५ मिनेटको समय दिएको बताएको द गार्डियनले जनाएको छ ।
उनका अनुसार, अमेरिकी सर्त नमाने मन्त्रीहरू सबैलाई गोली हानिने भनिएको थियो । यो खुलासा भेनेजुएलामा अमेरिकाकी सैन्य कारबाहीको सात दिनपछिको एक बैठकको लिक रेकर्डिङबाट भएको हो । उक्त भिडियो सबैभन्दा पहिले स्थानीय पत्रकारिता समूह ला होरा डे भेनेजुएलाले सार्वजनिक गरेको थियो ।
देश बचाउन सर्त स्वीकार गरियोः रोड्रिगेज
भिडियोमा रोड्रिगेजले अमेरिकी आक्रमणपछि सत्ता सम्हाल्दा डोनाल्ड ट्रम्पले आफ्नो प्रशंसा गरेको बताएकी छन् । उनले भनेकी छन्, “मैले ती कुरा मान्नुपर्यो, किनभने धम्की र ब्ल्याकमेलिङ लगातार भइरहेको थियो । देशलाई आन्तरिक द्वन्द्वबाट बचाउनु थियो । मेरो प्राथमिकता ‘राजनीतिक सत्ता जोगाउनु’ थियो ।”
यद्यपि, रोड्रिगेजले आफूलाई ‘देशद्रोही’ भन्नबाट जोगाउन र समर्थकलाई एकजुट राख्न यो ‘कथा’ बनाएको हुन सक्ने आशंका गरिएको छ । मादुरो पक्राउपछि रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति बनाइयो । ट्रम्पले उनलाई समर्थन गरे । तर, यसनिम्ति अमेरिकालाई भेनेजुएलाको विशाल तेल भण्डारसम्म पहुँच दिने सर्त राखिएको थियो ।
यसै हप्ता ट्रम्पले रोड्रिगेज नेतृत्वको तारिफ गर्दै भेनेजुएलाको तेलले अमेरिका अझ धनी हुने बताएका थिए ।
एजेन्सीहरु