अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमण पूरा गरेका छन् । भ्रमणका क्रममा कपुरले उच्चस्तरीय भेटवार्ता गर्दै नेपाल–अमेरिका साझेदारी सुदृढ गर्ने र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
भारतीय मुलका कपुर ७ वैशाखमा काठमाडौं आएका थिए । बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन् ।
नेपाल बसाइँको क्रममा उनले सत्तारुढ रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने, लगानी प्रवर्द्धन गर्ने र आर्थिक सहकार्य विस्तार गर्ने लगायतका विषयमा विचार आदान–प्रदान भएको थियो ।
सहायक मन्त्री कपुरले अमेरिकामा हुन लागेको लगानी सम्मेलनमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलसँग अमेरिकी लगानीका सम्भावनाबारे छलफल गरेका थिए । साथै, उनले अमेरिकी तथा नेपाली निजी क्षेत्रका प्रतिनिधिसँग पनि छलफल गर्दै नेपालको तीव्र गतिमा विकास भइरहेको प्रविधि क्षेत्रमा सहकार्यका सम्भावना खोजेका थिए ।
भ्रमणका क्रममा उनले नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन पनि गरेका छन् । उनले बौद्धनाथ स्तूप र पाटन दरबार स्क्वायरको भ्रमण गरेका थिए । यी सम्पदाहरू संरक्षण गर्न अमेरिकाले ‘एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन’मार्फत सहयोग गर्दै आएको छ ।