पृथ्वीराजमार्ग २० दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसम्मको दूरी आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको हो ।
मुग्लिन–पोखरा सडकअन्तर्गत निर्माणाधीन छिर्कने देउराली सडकखण्डको कार्यलाई तीव्रता दिन आजदेखि २३ मंसिरसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवागमन बन्द गर्न लागिएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् । पाण्डे मुग्लिन–पोखरा निर्माणाधीन सडके (पूर्वी खण्ड) का इन्जिनियर हुन् ।
पाण्डेका भनाइमा आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरिनेछ । राति १ बजेदेखि १ः३० बजेसम्म आधा घण्टा सवारी आवागमन खुलाईने छ । दोस्रो चरणमा राति १ः३० बजेबाट बिहान ४ बजेसम्म पुनः आवागमन बन्द गरी निर्माण कार्य अघि बढाइर््ने छ । आपतकालीन अवस्थामा भने विशेष व्यवस्था गरेर आवागमन खुलाईने छ ।
मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत काम भएको छ । इन्जिनियर पाण्डेका भनाइमा पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । दुई ठूला पुल र एक सय तीन वटा कल्भर्ट निर्माण समेत सकिएको पाण्डेले बताएका छन् । व्यास नगरपालिका वडा नं. ४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन पुलको काम ४५ प्रतिशत सम्पन्न भएको छ ।
यो सडक खण्ड २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि निर्माण कार्य सुरु भएको हो । यस सडकको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको छ ।