रौतहटको पूर्वीभेगमा अवस्थित दुर्गा भगवती गाँउपालिकाका पूर्वअध्यक्ष अरुण साहसहित ३ जना विरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको छ ।
जग्गा सम्बन्धी कारोवारमा रकम ठगी गरेको मुद्दामा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत रौतहटसँग गत जेठ १३ गते अनुमति माग गरेको डिएसपी राजन कार्कीले बताए । प्रहरीको माग अनुसार जिल्ला अदालतले पूर्वअध्यक्ष साहसहित ३ जनालाई पक्राउ गर्न आदेश जारी गरेको हो ।
गरुडा नगरपालिका–६ पोठियाहीका संतोष कुमार चौधरीले काठमाडौं नागार्जुन ४ बस्ने विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठसँग सर्लाही हरिपुर–७ मा रहेको जग्गा खरिदका लागी गरेको सम्झौता बमोजिम पटक पटक गरी १ करोड ४३ लाख रकम नगद र चेक समेत बुझाएका थिए ।
उक्त जग्गा खरिद विक्रीमा संलग्न साहलाई चौधरीले आफ्ना ससुरा प्रभन्य चौधरीको नाममा रहेको नेपाल बैंक लिमिटिडको चेक मार्फत २०८१ भदौ १९ गते साहलाई १० लाख रुपैयाँको चेक दिएका थिए।
सो पछि पटक पटक जग्गा पास गराउन भन्दा आलटाल गर्दै आएकाले पीडित सन्तोष चौधरीले पीडक विमला श्रेष्ठ, धिरज श्रेष्ठ र अरुण साह बिरुद्द १ करोड ४३ लाख ५० हजार ठगी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दायर गरेका थिए ।
मुद्दामा प्रहरीको अनुसन्धानको लागि जिल्ला अदालत रौतहटले अरुण साह,विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठ लाई पक्राउ गर्न आदेश दिएको हो। ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले ठगी मुद्दामा संलग्न तीनैजना लाई पक्राउ गर्ने तयारी भईरहेको बताएका छन्।