Connect with us

अन्तर्राष्ट्रिय

हसिना हटाए पछि बन्द भए बंगलादेशका १४० गार्मेन्ट, निर्यातमा २० प्रतिशतले कमी

Published

on

देशको अर्थतन्त्रको मेरुदण्ड मानिने बंगलादेशको गार्मेन्ट उद्योग आजकाल गम्भीर संकटबाट गुज्रिरहेको छ ।

पछिल्लो सात महिनामा १४० भन्दा बढी गार्मेन्ट कारखाना बन्द हुँदा १ लाखभन्दा बढी बेरोजगार भएका छन् । यो संकट देशको राजनीतिक अस्थिरता र विश्वव्यापी आर्थिक मन्दीको परिणाम हो भन्ने विश्वास गरिएको छ।

जसअनुसार गाजीपुर, सावर, नारायणगञ्ज, नरसिन्दीजस्ता प्रमुख औद्योगिक क्षेत्रको अवस्था गम्भीर बन्दै गएको छ । तीमध्ये ५० भन्दा बढी कलकारखाना पूर्णरुपमा बन्द भइसकेका छन् भने अन्य ४० वटा अस्थायी रुपमा बन्द हुने अवस्थामा छन् । जसका कारण हजारौं मजदुर सडकमा आएर आन्दोलन गरिरहेका छन् ।

श्रम संगठनका अनुसार धेरै कम्पनीका कर्मचारीले २ देखि १४ महिनादेखि तलब पाउन सकेका छैनन् । इदको समय नजिकिँदै गर्दा मजदुरमा असन्तुष्टि बढ्दै गएको छ । छिट्टै समाधान नभएको खण्डमा आगामी दिनमा स्थिति थप भयावह हुन सक्ने आंकलन गरिएको छ ।

बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसनका अनुसार बंगलादेशबाट यसअघि हुदैँ आएको निर्यात २० प्रतिशतले घटेको छ भने गार्मेन्टका अर्डर अन्य देशमा सरेको छ। जसमध्ये भारत, भियतनाम, श्रीलंका, इन्डोनेसिया र पाकिस्तान प्रमुख लाभान्वित हुन पुगेका छन् । यसले बंगलादेशको अर्थतन्त्रमा नकारात्मक असर गरिसकेको जनाइएको छ ।

गार्मेन्ट क्षेत्रको अहिलेको अवस्था आउनुका पछाडि दुईवटा मुख्य कारण मध्ये पहिलो आर्थिक मन्दी र दोस्रो राजनीतिक अस्थिरता रहेको विज्ञहरू बताउँन थालेका छन् । चाखलाग्दो कुरा के छ भने बन्द भएका अधिकांश कारखानाहरू पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित व्यवसायीहरूको रहेको छ । जसमा हसिनाका विदेशी लगानी सल्लाहकार सलमान एफ रहमानको मुख्य कम्पनी बेक्सिमको पनि यसमा संलग्न छ ।

पछिल्लो ७ महिनामा बेक्सिमकोका १५ भन्दा बढी कारखाना बन्द भएका छन् । यस बाहेक अवामी लिगसँग सम्बद्ध अन्य धेरै ठूला कपडा मालिकहरूले पनि आफ्नो व्यवसाय बन्द गरिरहेका छन्।

गार्मेन्ट मजदुर ट्रेड युनियन सेन्टरका कानुनी मामिला सचिव खैरुल मामुन मिन्टुले सरकारले यो समस्यालाई बेवास्ता गरेको बताउँछन् । उनले यो आर्थिक मन्दीको परिणाम मात्र नभएर राजनीतिक अस्थिरता पनि प्रमुख कारण रहेको दाबी गरेका छन्  ।

‘अर्डर आउन बाँकी छ तर सञ्चालित कलकारखानामा थप दबाब परेको छ। सरकारले जतिसक्दो चाँडो समाधान खोज्नुपर्छ, नत्र देशले आर्थिक मन्दीको सामना गर्नुपर्ने हुनसक्छ,’ उनले भने ।

बंगलादेशको कपडा उद्योगले देशको विदेशी मुद्राको ८४ प्रतिशत कमाउने गरेको थियो भने लगभग ५०० लाख जनताले प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको अवस्था थियो । जसमध्ये महिलाको सहभागिता सबैभन्दा बढी छ । अहिलेको संकटका कारण लाखौं महिला बेरोजगार भएका छन्, जसले परिवारमा गम्भीर आर्थिक असर परेको छ ।

बंगलादेशमा नयाँ विद्यार्थी नेतृत्वको पार्टी ‘राष्ट्रिय नागरिक पार्टी’ र सेनाबीचको विवाद बढ्दै गएको छ । सत्ताबाट हटाइएकी शेख हसिनाको पार्टी अवामी लिगलाई सेनाले पुनः सक्रिय गर्ने योजना बनाएको सो पार्टीले आरोप लगाएको छ ।

हसिनालाई राजनीतिमा फर्काउन सेनाले अवामी लिगलाई नयाँ नाममा स्थापना गर्न सक्ने ती नेताहरुको दाबी छ । तर, सेनाले यी आरोपलाई निराधार भन्दै कुनै पनि राजनीतिक हस्तक्षेप अस्वीकार गरेको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.