नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गैरसरकारी संस्था (एनजीओ) को एजेन्डा बोक्नेहरू एक ठाउँ जम्मा भएको टिप्पणी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले रास्वपालक्षित एकतामा यस्तो टिप्पणी गरेका हुन् ।
“कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्,” ओलीले भने, “विकासको नाममा एनजीओको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ ।”
त्यसरी एक भएकाले भदौ २३ र २४ गतेको घटनाको जस लिन नसकेको उनको भनाइ छ । त्यति बेलाको क्षतिको भारीबाट पनि उनीहरू पन्छिन् नसकेको उनले टिप्पणी गरे । “न त आन्दोलनको जस लिन सके न त देशलाई क्षति पुर्याउने भारीबाट पन्छिन सके । अन्ततः देश ध्वस्त बनाउने कामको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने अवस्था आएको छ,” ओलीले भनेका छन्।