Connect with us

समसामयिक

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

Published

on

काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन दुई हजार ७५ नागरिकको विवरण सङ्कलन गरेको छ ।
काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा दुई हजार ७५ जनाको विवरण सङ्कलन गर्दा १०८ जनालाई तत्काल अस्पताल लगेर उपचार गर्ने अवस्था  भेटिएका महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दिपककुमार केसीले जानकारी दिएका छन् ।
यही वैशाख २३ गतेसम्ममा सङ्कलित विवरण हेर्दा एक हजार ३७० महिला र ७०५ पुरुषको विवरण सङ्कलन भएको छ । उनीहरुमध्ये एक हजार ९४६ जना हाल परिवारसँगै छन् । एक सय ८ जना सहयोगीबाट साथ लिएर एक्लो जीवन बिताइरहेका छन् । आफन्त र नातेदारको आश्रयमा २१ ज्येष्ठ नागरिक हुन् ।
सत्तरी वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षणका लागि महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि सबै वडामा स्वास्थ्यकर्मीको टोली खटाएको छ । टोलीले ८४ वटा प्रश्नावलीको जवाफ, ज्येष्ठ नागरिकले बिताइरहेको जीवनस्तरको भौतिक र शारीरिक अवस्थाका आधारमा स्वास्थ्य सर्वेक्षण भइरहेको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दिपककुमार केसीले जानकारी दिए । नागरिकलाई आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहूँच वृद्धि गर्ने कार्यक्रमअन्तर्गत आगामी वर्षको स्वास्थ्य नीति, बजेट तथा कार्यक्रममा पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले सर्वेक्षण गरिएको उनले बताए ।
सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई हरियो, पहेँलो  र रातो जोनमा वर्गीकरण गरिएको छ । हरियो जोन भनेको सुरक्षित अवस्था हो । यो जोनमा भएका ज्येष्ठ नागरिकलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन । यो जोनमा ९९५ जना हुन् ।
पहेँलो जोनमा रहेका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ । यो जोनमा ९७२ ज्येष्ठ नागरिक हुनुहुन्छ । उपचारका लागि तत्काल अस्पताल पठाउनु पर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रातो  जोनमा राखिएको छ । यस्ता ज्येष्ठ नागरिकलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा रेफर गर्ने गरिएको छ । रातो जोनमा १०८ ज्येष्ठ नागरिक हुन् ।
फिल्डमा स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, ग्लुकोज, ज्वरो, श्वाशप्रश्वाश, रगतमा अक्सिजनको मात्रा, पिसाबमा एल्बुमिन र सुगरलगायत जाँच गर्नुहुन्छ । विगतमा गरिएका उपचार, प्रयोग गर्दै गरेका औषधि, प्रयोग गरेर छोडेका औषधिका बारेमा समेत उनीहरुले जानकारी लिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.