Connect with us

समसामयिक

सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता गणेश लामाले पाए सफाइ

Published

on

गुन्डा नाइके भनेर चिनिएका कांग्रेस नेता गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। काभ्रेमा जन्मे हुर्केका लामा काठमाडौंको कोटेश्वरमा बसोबास गर्छन् ।

लामालाई विशेष अदालत बबरमहल, काठमाडौंले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको थियो । उनी सर्वोच्चमा गएका थिए । सर्वोच्चले विशेषको फैसला उल्टाउँदै सफाइ दिएको हो। २४ साउन २०७५ मा लामा विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका थिए। त्यतिखेर उनलाई १ वर्ष कैद, बिगोबराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना हुने फैसला भएको थियो।

विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको सम्पत्तिमध्ये १ करोड ४० लाख ५० हजार रुपैयाँ अवैध रहेको ठहर गरेको थियो।

उक्त फैसला उल्टाउँदै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामासँग भएको सम्पत्तिलाई वैध ठहराइदिएको छ। लामामाथि रकम विभिन्न आपराधिक क्रियाकलापबाट कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा ५ जेठ २०७० मा मुद्दा दायर गरेको थियो।

विभागले लामासँग २७ करोड रूपैयाँबराबरको अवैध सम्पत्ति रहेकोले उक्त सम्पत्ति जफत गरी त्यति नै रकम जरिवाना गर्नुपर्ने मागदाबी सहित अभियोगपत्र दायर गरेको थियो। विशेष अदालतले कम सजाय गरेको भन्दै सरकार पनि सर्वोच्च गएको थियो। सरकारको पुनरावेदनमा सर्वोच्चले जिकिर नपुग्ने ठहर गरेको छ।

अब लामाको अपराधिक धन्दा र चुरीफुरी थप बढ्ने जानकारहरुको भनाइ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.