Connect with us

समसामयिक

नारायणीमा देखिए डल्फिन

Published

on

नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएका छन् । संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएको बताए । उनले केही दिन अघिमात्र उक्त क्षेत्रमा डल्फिनको तस्बिर कैद गरेका थिए । विगत तीन वर्र्षदेखि नियमित रुपमा आफूले डल्फिन देख्न पाउँदा उत्साहित बनाएको संरक्षणकर्मी एवं नेचर गाइड महतोले बताए ।

‘लामो समयदेखि नारायणी नदीमा डल्फिन देखिन छाडेको थियो, दुई तीन वर्ष यता नियमित रुपमा डल्फिन देखिन थालेको छ’ महतोले भने । गतवर्ष नवलपुरको अमलटारीघाट र भेलौजीस्थित नारायणी नदीमा डल्फिन देखिएको थियो । यस वर्ष गोलाघाट, खोरिया मुहाननजिक डल्फिन देखिएको उनले बताए । नवलपुरको खोरिया मुहानदेखि त्रिवेणीसम्म विभिन्न स्थानमा विभिन्न समयमा डल्फिन देखिन थालेको छ । खासगरी नारायणी नदीको खोरिया मुहान, अमलटारीघाट र भेलौजी भन्ने स्थानमा डल्फिन देखिने गरेको छ । यी स्थानमा नदीको सतह गहिरो र शान्त रहेकाले डल्फिन यस क्षेत्रमा देखिएको हुन सक्ने महतोले बताए ।

लामो समयको अन्तरालपछि क्रमशः डल्फिन देखिनु आफैमा खुसीको कुरा भएको उनको भनाइ छ । संरक्षणकर्मी पे्रमशंकर मर्दनिया थारूका अनुसार अमलटारीदेखि त्रिवेणीसम्म डल्फिनका लागि अनुकूल वातावरण छ । पानीको गहिराइ, आहाराका रूपमा प्रशस्त माछा तथा प्राकृतिक अवस्था उपयुक्त रहेको छ । पहिले यस क्षेत्रमा प्रायः डल्फिन देखिने गर्दथे, पछिल्लो समय फेरि देखिन थालेको उनले बताए । त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको ब्यारेजका कारण धेरैजसो डल्फिन तलतिर झरेपछि पुनः माथि आउन नसक्दा यहाँको क्षेत्रमा डल्फिन कम देखिन थालेको उनको भनाइ छ ।

डल्फिन एक स्तनधारी जलचर जीव हो । नेपालको विभिन्न नदीमा यसको उपस्थिति भए पनि संरक्षणको पहल भने पर्याप्त नभएको उनको भनाइ छ । नारायणी नदीमा डल्फिन देखिएको अवस्थामा प्रभावकारी संरक्षण कार्य अघि बढाउन आवश्यक रहेको उनले बताए ।

नदी प्रदूषण नियन्त्रण, डल्फिनलाई असर गर्ने गतिविधि रोकथाम गर्न जरुरी रहेको संरक्षणकर्मी थारूले बताए । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गत वर्ष नारायणी नदीमा तीनवटा डल्फिन देखिएको अभिलेख छ । डल्फिनको छुट्टै गणना नगरिए पनि घडियाल गणनाको क्रममा डल्फिन देखिए, त्यसको रेकर्ड राखिने उनले बताए । निकुञ्जबाट समग्र संरक्षणका कामहरु हुने हुँदा छुट्टै डल्फिन संरक्षणको गतिविधि र कार्यक्रम भने नरहेको उनले बताए ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.