Connect with us

समसामयिक

न्याय परिषद् बैठकः सर्वोच्चमा चार न्यायाधीश नियुक्तिको तयारी

Published

on

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्ति गर्ने उद्देश्यले न्याय परिषद् बैठक बस्दैछ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा रिक्त चार जना न्यायाधीश नियुक्तिको लागि न्याय परिषद् बैठक राखेका छन्। बैठकले चार न्यायाधीशको नाम संसदीय सुनुवाइका लागि सिफारिस गर्ने तयारी छ।

न्याय परिषद् बैठक डाकिएकाले प्रधान न्यायाधीश राउतले आजको दैनिक पेसीमा आफ्नो इजलास राखेका छैनन्। सर्वोच्च अदालतको दोस्रो वरियातामा रहेकी न्यायाधीश सपना प्रधान मल्लको समेत आज इजलास तोकिएको छैन । सर्वोच्च अदालतको दोस्रो वरियाताको न्यायाधीश न्याय परिषद्को पदेन सदस्य हुन्छ ।

न्याय परिषद्मा नेपाल बार एसोसिएसनको तर्फबाट प्रतिनिधित्व गरिरहेको वरिष्ठ अधिवक्ता समेत रहेका रामप्रसाद श्रेष्ठको कार्यकाल सकिन लागेको छ । इमानी छवीका श्रेष्ठले अवकाश नपाउँदै न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न लागिएको हो । न्याय परिषद् सदस्य श्रेष्ठ यही १५ मंसिरमा अवकाश हुँदैछन्।

स्रोतका अनुसार सर्वोच्च अदालतको रिक्त चार न्यायाधीश पदमा दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र दुई जना कानुन व्यवसायीलाई सिफारिस गर्ने तयारी छ। परिषद्का सबै सदस्यहरु सहमत भएमा आजै नियुक्तिको सिफरिस हुन सक्छ।

न्यायपरिषद्मा प्रधान न्यायाधीश राउत, वरिष्ठ न्यायाधीश मल्ल, कानुनमन्त्री अजयकुमार चौरसिया, नेपाल बारको तर्फबाट रामप्रसाद श्रेष्ठ र मन्त्रिपरिषद्को सिफरिसमा रामप्रसाद भण्डारी सदस्य छन्।

परिषद् बैठकले उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापा तथा बरिष्ठ अधिवक्ताद्धय ईश्वरी भट्टराई र आशिष अधिकारीको नाम सिफारिसका लागि प्रस्ताव गर्ने तयारी गरेको स्रोतको भनाइ छ । भट्टराई नेकपा (एमाले) र अधिकारी नेपाली कांग्रेस निकट कानुन व्यवसायी मानिन्छन्। अधिकारीले २ महिनाअघि १० असोजमा मात्र बरिष्ठ अधिवक्ताको उपाधि पाएका थिए।

यही १५ मंसिरमा न्याय परिषद् सदस्यबाट अवकाश हुन लागेका रामप्रसाद श्रेष्ठको स्थानमा नयाँ सदस्य नियुक्तिको समेत तयारी छ । नेपाल बारले श्रेष्ठको स्थानमा अर्का कानुनविद्लाई सिफारिस गर्नुपर्ने हुन्छ। जसका लागि नेपाल बार एसोसियसनको बैठक पनि आजकै लागि बोलाइएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.