Connect with us

राजनीति

ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा  ‘ललितकला मेला– २०८२’ सुरु

Published

on

नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको सन्दर्भ पारेर मङ्गलवारबाट ‘ललितकला मेला– २०८२’ सुरु भएको छ ।

मेलाको प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका हुन् । 

उनले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तर्चेतना जगाउने काम गर्ने अनि समाजलाई सही बाटामा लाग्न उत्प्रेरित गर्ने काम गर्ने बताए। 

कला क्षेत्रका परम्परागत ज्ञान, सिपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिदैँ उनले यही नै पछिका लागि इतिहास बन्ने धारणा राखेका हुन् ।  ‘यसरी जीवनदर्शन तथा समाजको परिवेश बोकेको कलामा साधनारत कला साधकहरू आफ्नो गन्तव्य तय गरी लाग्नुपर्दछ,’, पाण्डेले भने ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको मेलामा कला सरोकारी, ललितकर्मी, विद्यार्थी, सर्वसाधरणलगायतको उल्लेख्य उपस्थिति रहँदा प्रतिष्ठानलाई थप ऊर्जा मिलेको बताए । नेपाली कला क्षेत्रलाई थप चलायनमान बनाउन यस कार्यक्रम गरिएको बताउँदै उनले मेलालाई आगामी वर्ष अझ भव्य रूपमा आयोजना गरिने जानकारी गराए । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ठुलो कुरा सुरुवात साना–साना प्रयासबाटै हुने बताए । 

प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतिष्ठानलाई कला हबका रूपमा विकास गर्न यस मेलाले महत्वपूर्ण सहयोग गर्ने धारणासमेत राखेका छन् । 

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले मेलाले ललितकलाका माध्यमबाट नेपाली मौलिक संस्कृतिको प्रचार–प्रसार, नेपाली ललितकलाको बजार प्रवर्धन, कला पर्यटनको विकासलगायतका क्षेत्रमा थप सहयोग गर्ने बताए । विभिन्न माध्यमहरूमा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्धन कार्यको थालनीका लागि यस मेला गरिएको हो । 

मेलाका माध्यमबाट यी विविध विधाका कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी, अनुसन्धानदाता, कलाकृति तथा कला वस्तुहरूसँगै सर्जकहरूसमेतलाई एकै थलोमा भेला गराई स्थलगत रूपमा ललितकलाको प्रवर्धन तथा कलाकारको सम्मान र ललितकलामार्फत देशको सांस्कृतिक अर्थतन्त्रमा योगदान दिने रहेको छ । 

समग्रमा यस मेलाले नेपाली ललितकलाको विकासमा टेवा पु¥याउने छ । ४५ भन्दा बढी स्टल रहेको मेला वैशाखको ६ गतेसम्म चल्ने छ ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.