Connect with us

समसामयिक

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

Published

on

जिल्ला अदालत मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न बैंकहरूलाई पत्राचार गरेको छ।

अदालतले मंगलबार पाँच वटा बैंकहरूलाई क्लासिक टेकका खाता रोक्का राख्न पत्राचार गरेको हो। व्यापारिक साझेदार कम्पनीले दिएको मुद्दाको आधारमा अदालतले क्लासिक टेकका खाता रोक्का राख्न पत्रकार गरेको हो।

रोक्का राख्न पत्राचार गरिएका बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, हिमालयन बैंक, सानिमा बैंक र एनआइसी एसिया बैंक रहेका छन्।

‘उपरोक्त विषयमा वादी बयरवन केवल नेट प्रालिसमेत र प्रतिवादी क्लासिक टेक प्रालिसमेत भएको करारीय दायित्व पूरा गराई सम्झौता बमोजिम रकम दिलाई पाऊँ मुद्दामा यस अदालतको मिति २०८१/१२/२६ गतेको आदेशअनुसार लेखिन्छ,’ अदालतले लेखेको पत्रमा उल्लेख छ।

क्लासिक टेक र उसको व्यापारिक साझेदार कम्पनी बयरवन केवल नेट प्रालिबीच रकम भुक्तानीको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ।

बयरवन केवल नेटले क्लासिक टेकले आफूसँग सम्झौता गरेअनुसारको भुक्तानी नदिएको भन्दै अदालतमा निवेदन दिएको थियो। प्रालिका सञ्चालक बलबहादुर खापुङले क्लासिक टेकले सम्झौताअनुसार भुक्तानी नदिएको भन्दै अदालतमा मुद्दा हालेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै क्लासिक टेकका बैंक खाता रोक्का राख्न पत्राचार गरेको अदालतले जनाएको छ।

यसअघि अदालतले क्लासिक टेकलाई आफ्ना बैंक खाता विवरण उपलब्ध गराउन आदेश दिएको थियो। हाल उक्त कम्पनीले पाँच वटा बैंक खाताको मात्रै विवरण अदालतमा उपलब्ध गराएको छ। ‘अन्य बैंक खाता विवरण प्राप्त भइसकेको छैन, अन्य बैंक खाता क्रमश: उपलब्ध हुँदै जाने भएकाले हाल उपलब्ध भएका बैंक खाताहरू रोक्का राख्न पत्राचार गरिएको छ,’ अदालत स्रोतले भन्यो।   

खापुङले दिएको निवेदन अनुसार क्लासिक टेक र बयरवन केवल नेटबीच २०७६ भदौ महिनामा सेवा विस्तारबारे सम्झौता भएको थियो। उक्त सम्झौतामा केवल नेट प्रालिलाई क्लासिक टेकले काम गरेबापतको (४० प्रतिशत कमसन) दिनुपर्ने उल्लेख छ।

‘उक्त रकम भुक्तानी नगरीकन क्लासिक टेकले बल मिच्याइँ तरिकाले कर्मचारी खटाएर इन्टरनेट सेवा विस्तार गरिरहेको छ,’ खापुङले भने, ‘उक्त क्रियाकलापबारे थाहा पाएपछि मैले राम्रोसँग कुराकानी गरी आफ्नो हिसाब-किताब गरिदिन भनेको थिएँ, तर उहाँहरूले भुक्तानी नदिएपछि म अदालतमा गएको हुँ।’

खापुङका अनुसार क्लासिक टेक कम्पनीले पटक-पटक न्यायोचित तरिकाले हिसाब मिलाउने भनी आश्वासन दिइरह्यो। आश्वासन दिने तर हिसाब-किताब गर्न पन्छिने गरेपछि अदालतको सहारा लिएको उनले बताए।

भुक्तानीको विषय टुंगो नलागेपछि बयरवन केवल नेट प्रालिले मोरङ कानेपोखरी गाउँपालिका क्षेत्रमा सेवा विस्तारमा अवरोध गरेको थियो। उक्त कम्पनीले सेवा विस्तार सुचारू गर्न माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो।

उक्त निवेदनमा क्लासिक टेकलाई उच्च अदालतले अन्तरिम आदेश दिएको थियो। बयरवन केवल नेट प्रालिले फेरि उच्च अदालतमा निवेदन दिँदा उसलाई समेत अदालतले अन्तरिम आदेश दिएको थियो।

अदालतले अन्तरिम आदेश दिएपछि पनि आफ्नो हिसाब-किताब चुक्ता नभएपछि क्लासिक टेकविरूद्ध केवल नेट प्रालिका सञ्चालक खापुङले जिल्ला अदालत मोरङमा मुद्दा हालेका हुन्।

यसअघि क्लासिक टेकका बैंक खाता रोक्का राख्न माग गर्दै खापुङले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका थिए। उक्त निवेदनका आधारमा प्रशासनले क्लासिक टेकका आठ वटा बैंक खाता रोक्का राख्न राष्ट्र बैंक विराटनगरलाई पत्राचार गरेको थियो।

प्रशासनले बैंक खाता रोक्का राख्न पत्राचार गरेपछि क्लासिक टेकले प्रशासन नेतृत्वलाई राजनीतिक दबाब दिएर बैंक खाता फुकुवा गराएको थियो।

‘अदालतको अन्तरिम आदेशलाई समेत अवज्ञा गरी क्लासिक टेकले कानेपोखरी क्षेत्रमा सेवा विस्तारको अवस्था छ,’ खापुङले भने, ‘अदालतको अवहेलना गरेको अवस्था देखिएकोले त्यसउपरसमेत मुद्दा दिने तयारी मेरो छ।’


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.