आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध सानदार जित निकालेको छ । नेपालले बुधबार भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध पाँच विकेटको जित निकालेको हो ।
स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा आरिफ शेखको अर्धशतकमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आरिफले ७८ रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे ।
त्यस्तै, दिपेन्द्रसिंह ऐरीले तीन चौकाको मदतमा ३८ रन बनाए । कुशल भुर्तेलले २५, आसिफ शेखले १९, भीम सार्कीले ११, कप्तान रोहित पौडेलले २३ र गुल्सन झाले ११ रन जोडे ।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले दुई तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान एक विकेट लिए । यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२५ रनको योगफल खडा गरेको थियो ।
नेपालका सोमपाल कामीले तीन विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान दुई विकेट लिए । जारी शृंखलामा नेपालको यो दोस्रो जित हो ।
यसअघि नेपालले पहिलो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।