Connect with us

समसामयिक

नयाँ च्याम्पियन पाउँदै एनपिएल

Published

on

एक वर्षअघि नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पराजित भएर पहिलो च्याम्पियन बन्नबाट वञ्चित भएको पीडा सुदूरपश्चिम रोयल्सले अहिलेसम्म भुल्न सकेको छैन । सुदूरपश्चिम रोयल्ससमक्ष शनिबार लुम्बिनी लायन्सलाई हराएर दोस्रो संस्करणको विजेता बनी सो पीडा भुलाउने अवसर छ । लगातार दोस्रो पटक एनपिएल फाइनल खेल्न लागेको सुदूरपश्चिम रोयल्स मात्र होइन लुम्बिनी लायन्स पनि पहिलो पटक एनपिएल उपाधि जित्ने दाउमा छ । आज शनिबार एनपिएलले नयाँ च्याम्पियन पाउने छ ।

दुई फरक यात्रा

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा फाइनल खेल्ने दुई टिम यस पटक फरक यात्राबिच उपाधिनजिक पुगेका हुन् । सदूरपश्चिमले सुरुदेखि नै प्रतियोगिताको सर्वश्रेष्ठ टिमका रूपमा आफूलाई प्रस्तुत ग¥यो । लुम्बिनी लायन्सले भने प्रतियोगिताको मध्य भागमै बिदा भइसक्ने प्रतिकूल स्थितिबाट शानदार पुनरागमन गरेको हो ।

सुदूरपश्चिमले लिग चरणका सातमध्ये छ खेलमा जित निकालेको थियो । समूह चरणको अन्तिम खेलमा मात्र सुदूरपश्चिमले विराटनगर किङ्ससँग पराजय बेहोरेको थियो । सो खेलमा पहिले नै शीर्ष स्थान पुगिसकेकाले सुदूरपश्चिम रोयल्सले ठुलो परिवर्तन गरेको थियो । क्रिस लिन र जोस ब्राउन जस्ता प्रमुख आयातित खेलाडी फर्केपछि नयाँ विदेशी खेलाडीसहित खेलेको थियो । त्यसैले पनि होला विराटनगरसँग सो खेलमा नराम्ररी हा¥यो तर सुदूरपश्चिमले एक खेलपछि नै पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई लज्जास्पदक ढङ्गले हराएर आफूनै सर्वश्रेष्ठ टिम हो भन्ने साबित गरिसकेको छ ।

सुदूरपश्चिम रोयल्सका लागि फाइनल सहज भने हुने छैन । लुम्बिनी लायन्सको चमत्कारी यात्रामा च्याम्पियनको ट्रफी उचाले पनि आश्चर्य हुने छैन । लुम्बिनी लायन्सले पहिलो खेलमा चितवन राइनोजलाई हराएर प्रतियोगितामा राम्रो बोहनी गरेको थियो तर त्यसपछि लुम्बिनीले लगातार तीन खेल गुमायो । जसले लुम्बिनी लायन्सका लागि बाँकी प्रत्येक खेल नकआउट बने । राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतत्वमा रहेको टिम लुम्बिनीले लिग चरणमा बाँकीका तीन खेल मात्र जितेन, इलिमिनेटरमा काठमाडौँ गोर्खाज र क्वालिफायर टुमा विराटनगर किङ्सको सपना चकनाचुर पारेर आफूलाई अब उपाधिको एक कदम पर पु¥याएको छ । लुम्बिनीले लगातार पाँच खेल जितेर फाइनल पुगेको हो ।

लुम्बिनी लायन्सलाई उपाधि जित्न प्रेरित गर्ने अर्को कारण हो– यो टिम गत वर्ष पुछारमा थियो । अझ यस पटक पनि कमजोर सुरुवातले लुम्बिनी लायन्सको धेरै आलोचना पनि भयो । यी प्रतिकूल अवस्थालाई चिर्दै फाइनलसम्म स्थान बनाएकोबाट पनि लुम्बिनी लायन्स यस पटक मानसिक रूपमा कत्तिको सशक्त छ भन्ने स्पष्ट हुन्छ । लुम्बिनीका कप्तान रोहितले प्रतियोगतामा सुरुवात कमजोर भए पनि सबै खेलाडीको अगाडि बढ्ने विश्वासले फाइनल खेल्दै छौँ भनेका छन् ।

फाइनलमा नजरमा रहने खेलाडी

क्रिकेटमा क्रिकेटर अझ ब्याट्सम्यानका लागि घरेलु मैदान र पिच सबभन्दा ठुलो फाइदाका रूपमा रहेको हुन्छ तर यस पटक एनपिएलमा घरेलु ब्याट्सम्यान आलोचित छन् । एक दुई जना ब्याट्सम्यानलाई छोड्ने हो भने नेपालका हस्ती ब्याट्सम्यानहरूको अपेक्षाअनुरूप प्रदर्शन रहेन । यद्यपि यसबिच सुदूरपश्चिम रोयल्सका प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारी र लुम्बिनी लायन्सका कप्तान रोहित भने ब्याटिङमा चम्किएका छन्ल । यी दुवैले प्रायः खेलमा धैर्यपूर्ण ब्याटिङले आआफ्नो टिमको पालि सम्हालेका छन् ।

सर्वाधिक रनकर्ताको सूचीमा विकेटकिपर ब्याट्सम्यान विनोद कुल २६४ रनका साथ दोस्रो र रोहित कुल २६० रनका साथ तेस्रो स्थानमा छन् । फाइनलमा म्याच जिताउने पालि खेल्न सकेमा दुवै प्रतियोगिताका सर्वश्रेष्ठ घरेलु खेलाडीलाई दिइने करिब ६३ लाख मूल्य पर्ने कारको मालिक बन्ने सम्भावना प्रबल छ ।

सो कारमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रको दाबेदारी पनि उत्तिकै छ । दीपेन्द्रले आफ्नो नेतृत्व मात्र होइन, क्रिकेटका तीनै पक्ष ब्याटिङ, बलिङ र फिल्डिङमा उत्तिकै असरदार प्रदर्शन गरेर आफूलाई वास्तविक अलराउन्डरका रूपमा उभ्याएका छन् । १४४.६६ को स्ट्राइक रेटमा कुल १५४ रन बनाएका दीपेन्द्रले आठ विकेट र दस क्याच पनि लिएका छन्ल । उनी सर्वाधिक रन आउट गर्ने क्रिकेटर पनि हुन् । फाइनलमा अर्को निर्णायक पालिले दीपेन्द्रलाई लगातार दोस्रो कार नदिलाउला भन्न सकिन्न । पहिलो संस्करणमा दीपेन्द्रले नै कार जितेका थिए ।

फाइनलमा लुम्बिनीका युवा स्पिनर शेर मल्ल पनि हेर्नलायक खेलाडीका रूपमा रहनेछन् । लुम्बिनीले प्रतियोगितामा शानदार पुनरागमन गर्नेमा शेरको भूमिका सबभन्दा ठुलो छ भन्दा फरक पर्दैन । पावर प्लेमा पनि लगातार सफलता प्राप्त गरेका शेरले प्रति ओभरमा मात्र छ रनको औसतमा कुल १४ विकेट लिइसकेका छन् । इमिर्जङ प्लेयरको पुरस्कारमा शेर सबभन्दा अगाडि रहेका छन् । उता सुदूरपश्चिमका तेज बलर अविनाश बोहराले पनि कुल १६ विकेट लिएर यस प्रतियोगितालाई सफल बनाएका छन् । अब अविनाश फाइनलमा विकेट निकालेर आफ्नो टिमलाई च्याम्पियन बनाउनुका साथै सर्वाधिक विकेटकर्ताको सम्मान पाउने दाउमा छन्। सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा रहेका सन्दीप लामिछाने एक विकेटले मात्र अविनाशभन्दा अगाडि छन्।

दुवै टिमको फाइनलसम्मको यात्रामा विदेशी क्रिकेटरको योगदान पनि उत्तिकै छ । लुम्बिनीका प्रारम्भिक ब्याट्सम्यान डार्सी, प्रतियोगिताको बिचमा आएर लुम्बिनीका लागि तुरुपको एक्का साबित हुने श्रीलङ्का विकेटकिपर ब्याट्सम्यान निरोसन डिकेवेला र नामिबियाका तेज बलर रुवेन ट्रम्पलम्यानको शानदार लय फाइनलमा पनि कायम रहने अपेक्षा रहने छ । सुदूरपश्चिमले पनि तेज बलर स्कट कुग्लियाइन, अलराउन्डर हर्मित सिंह र दुई नयाँ आयातित खेलाडी पाकिस्तानी ब्याट्सम्यान मुख्तार अहमदलाई र भारतका सेल्डन ज्याक्सनबाट आआफ्नो टिमलाई फाइनल जिताउन निर्णायक योगदान दिलाउने आशा गरेको छ ।
प्रजित शाक्य/गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.