Connect with us

राजनीति

निजी विमान चार्टर्ड गरेर प्रधानमन्त्रीको जम्बो टोली लाग्यो चीन, यी हुन् मुख्य एजेण्डा

Published

on

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्।

हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट प्रस्थान गरेका प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार साँझ चीनको राजधानी बेइजिङ पुग्नेछ।

सरकारी भ्रमण टोलीले राष्ट्रिय ध्वजाबाहक विमान चढेर सरकारी वायुसेवालाई प्रोत्साहन गर्नुपर्नेमा ओलीको भ्रमणले निजी क्षेत्रको विमान चार्टर्ड गरेको हो।

भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप गाढा बनाउने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय समझदारी पत्रहरूमा हस्ताक्षर, र बहुपक्षीय सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा नेपाल र चीनबीच “बेल्ट एण्ड रोड इनिसिएटिभ” (बिआरआई) अन्तर्गत सहकार्यलाई औपचारिक बनाउन समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। चीनसँग मस्यौदाका दुई वटा प्रस्ताव बनाइएको छ- एक हस्ताक्षरका लागि र अर्को थप छलफलका लागि।

भ्रमणका क्रममा विभिन्न पूर्वाधार परियोजनाहरू अघि बढाउने सहमति हुने सम्भावना छ।

  • काठमाडौँ रिङरोडको स्तरोन्नति।
  • टोखा-छहरे सुरूङमार्ग निर्माण।
  • जिलुङ-केरुङ-काठमाडौँ रेलमार्ग अध्ययन।
  • खाँदबारी-किमाथांका सडकमा मितेरी पुल निर्माण।

चीनले मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि सहयोग गर्नेछ। साथै, नेपाली र चिनियाँ जनताबीच सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न भाषा विकासका कार्यक्रम अघि बढाइनेछ।

चीनले २० मिलियन अमेरिकी डलर नगद अनुदान र ३०० मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने सहमति हुनेछ।

  • प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा-५ मा स्पोर्ट्स कम्प्लेक्स।
  • पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा सभाहल निर्माण।

मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्नेछन्। बुधबार उनले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ।

चीन भ्रमणको टोलीमा सरकारी टोलीमा ३९ जना र निजी क्षेत्रबाट ४८ जना रहेका छन्। 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.