सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस बागमती सभापतिसमेत रहेका बानियाँको घर र निर्माण कम्पनीबाट नियन्त्रणमा लियो महत्वपूर्ण कागजात
कांग्रेस नेतासमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा उनको निर्माण कम्पनीको कार्यालयमा सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको छ । अवैध सम्पत्ति आर्जनसम्बन्धी उजुरीका आधारमा विभागले काठमाडौंका नक्साल र सुन्धारा तथा हेटौँडा उपमहानगरपालिका– ५, पिप्लेमा रहेका बानियाँ निर्माण सेवा ९बिएनएस०को कार्यालय तथा पिप्लेस्थित निवासमा छापा हानेको हो । पिप्ले क्षेत्रमा मात्रै चारजना विभागीय कर्मचारी र तीन प्रहरी खटिएका थिए भने सादा पोसाकमा खटिएका प्रहरीले निगरानी राखेका थिए ।
काठमाडौंबाट आएको टोली मुख्यमन्त्री बानियाँको हेटौँडास्थित निवासमा सोमबार मध्याह्न १२ बजे पुगेको थियो । करिब दुई घण्टा निवासमा बिताएको टोली त्यहाँबाट करिब २ बजे बाहिरिएको थियो । सो क्रममा केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको बताइए पनि त्यसको विवरण भने सार्वजनिक गरिएको छैन । त्यसअघि बिहान ९ बजे काठमाडौंमा छापा हानेको थियो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार अवैध सम्पत्ति संकलन तथा लुकाइएको धनसम्पत्तिबारे प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ ।
विभागले काठमाडौंमा छापा हानिरहेका वेला मुख्यमन्त्री बानियाँ भने कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा थिए । बैठकमा सभामुख चयन तथा मन्त्रिपरिषद् हेरफेरबारे आन्तरिक छलफल भइरहेको थियो ।
राजनीतिक र व्यावसायिक क्षेत्रमा बानियाँको प्रभाव
कांग्रेस बागमती सभापतिसमेत रहेका मुख्यमन्त्री इन्द्रकुमार बानियाँ राजनीतिक र व्यावसायिक दुवै क्षेत्रमा प्रभाव राख्दै आएका छन् । बानियाँ निर्माण सेवा (बिएनएस) का सञ्चालक रहेका उनी ‘ए’ वर्गका निर्माण व्यवसायी हुन् । २०५५ मा स्थापना भएको बानियाँ निर्माण सेवाले सडक, राजमार्ग, पुल, ढल निकास, सिँचाइ, पानी आपूर्ति, जलविद्युत्, विद्युतीय प्रसारण र वितरण लाइन, सुरुङ, भवन र औद्योगिकपरिसरको क्षेत्रमा निर्माण कार्य गर्दै आएको छ । यद्यपि, उनले राजनीतिको कार्यकारी जिम्मेवारी सम्हालेपछि निर्माण व्यवसायको सम्पूर्ण जिम्मेवारी आफ्ना भतिजहरूलाई सुम्पिएको दाबी गर्दै आएका छन् । बानियाँ २० साउन ०८२ मा मुख्यमन्त्री बनेका थिए ।
उनी पटक–पटक लाभको पदमा पुगेका छन् । ०७० मा संविधानसभा सदस्य बनेका थिए । ०७३ केन्द्र सरकारको गृह राज्यमन्त्री बने । ०७४ मा प्रदेशसभामा चुनाव जितेका उनी कांग्रेस संसदीय दलको नेता थिए । ०७९ को चुनावमा पनि जितेपछि उनी मुख्यमन्त्री बने ।
मुख्यमन्त्रीको प्रतिक्रियाः अनुसन्धानमा सहयोग गर्छु
छापामारीप्रति आपत्ति जनाउँदै मुख्यमन्त्री बानियाँले आफू सुशासन र पारदर्शिताको पक्षमा रहेको दाबी गरेका छन् । ‘म लामो राजनीतिक यात्रापछि जनताको सेवामा समर्पित छु । सार्वजनिक खर्च कटौती र आर्थिक मितव्ययिताका लागि म निरन्तर प्रयासरत छु । योजना तथा बजेटमा पारदर्शिता कायम गरिएको छ,’ उनले भने ।
उनले संवैधानिक र कानुनी दायराभित्र हुने हरेक अनुसन्धानलाई सकारात्मक रूपमा लिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । तर, पूर्वसूचनाविना गरिएको छापामारीले आफ्नो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा चोट पुर्याएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘राज्यका निकायले बोलाउँदा उपस्थित हुने अवस्था रहँदारहँदै अकस्मात गरिएको छापामारीप्रति मेरो आपत्ति छ,’ उनले थपे ।
पोष्टराज अधिकारी/नयाँ पत्रिका