नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिने आशयसहित सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले गएको मध्यराति दर्शकहरूसँगको तस्वीर सेयर गर्दै आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
‘सबै कुराका लागि सबैलाई धन्यवाद । यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैँ साथ दिए, अटल सहयोग प्रदान गरे’, सन्दीपले फेसबूकमा लेखेका छन्, ‘तपाईंहरूको माया र हौसला मेरा लागि अमूल्य छन् र सधैँ मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् । शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु ।’
२४ वर्षमा हिँडिरहेका सन्दीपले सन्यास आशयको स्टाटस लेख्नुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् । जसले क्रिकेट समर्थकमा तरंक पैदा गरेको छ । यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
कसैले खेल जीवनबाट सन्यास नलिन अनुरोध गरिरहेका छन् भने कतिपयले भने नघुक्र्याउन आग्रह गरेका छन् । कतिले चाहिँ ‘ह्याप्पी रिटायरमेन्ट’ लेखेका छन् ।
पछिल्लो समय राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीपले जय ट्रफी प्रतियोगितामा अम्पायरले गरेको निर्णयप्रति सामाजिक सञ्जालमार्फ असन्तुष्टि जनाएका थिए । उनले नेपालको अम्पायरिङको स्तरमा ठूलो सुधार आवश्यक रहेको बताएका थिए ।
एकदिवसीय खेलमा सबैभन्दा कम खेल खेल्दै १०० विकेट लिएर विश्वकीर्तिमान बनाएका सन्दीपको खेल पछिल्लो समय भने खस्किएको छ ।