Connect with us

समसामयिक

लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन चलाइँने

Published

on

नवयुवाहरुको विद्रोहका क्रममा भदौ २४ गते लुटिएका नेपाल प्रहरीका हतियार खोज्न विशेष अप्रेसन चलाउने निर्णय भएको छ। हिजो अपरान्ह बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनका लागि सबैभन्दा चुनौती नै लुटिएका हतियार र फरार कैदीबन्दी रहेको निष्कर्षसहित त्यसका लागि चारवटै सुरक्षाकर्मी सम्मिलित अप्रेसन चलाउने निर्णय गरेको हो।

केन्द्रीय सुरक्षा समितिको बैठकले यसका लागि जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनेछ। त्यसपछि जिल्ला सुरक्षा समितिले आ आफ्नो जिल्लामा नेपाली सेनासहित चार वटै सुरक्षाकर्मीको संयुक्त अप्रेसन चलाएर हतियारको खोजी गर्न थाल्नेछन्। प्रहरी प्रधान कार्यालयका अनुसार अझै ६ सय जति हतियार फेला परेका छैनन्। जेनजी आन्दोलनका क्रममा काठमाडौँसँगै उपत्यका बाहिरका जिल्लाबाट पनि प्रहरीका हतियार लुटपाट भएका थिए। तीमध्ये केहीले त्यतिबेलै नेपाली सेनालाई बुझाएका थिए भने कतिपय पछि प्रहरीले बरामद गरेको थियो।

अहिले पनि दिनहुँ छिटफुट हतियार बरामद भइरहेको छ। प्रहरीले पछिल्लो समय लुटिएका हतियार केन्द्रीय अप्रेसन चलाइरहँदा पनि अपेक्षित हतियार फिर्ता आउन नसकेपछि अन्य सुरक्षा निकायसहितको अप्रेसन चलाउने निर्णय भएको हो। निर्वाचनमा फरार कैदीबन्दीलाई पनि सुरक्षा जोखिमको रुपमा लिइएको छ। तर उनीहरू कतिपय देशै छाडेर भागेका, कतिपय पक्राउ पर्ने क्रम चलिरहेकाले हतियारलाई केन्द्रित गरेर संयुक्त अप्रेसन चलाउन लागिएको हो।

निर्वाचनलाई लक्षित गरेर सबै जिल्लालाई आ–आफ्नो क्षेत्रको सुरक्षा योजना प्रस्तुत गर्न पनि भनिएको छ। यसअघि गृह मन्त्रालयले सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्न समिति बनाएको थियो। समितिमा चार वटै सुरक्षा निकायका प्रतिनिधि सामेल थिए।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.