Connect with us

समसामयिक

सप्तरीमा चार दिनदेखि बेपत्ता महिलाको हत्या आशंका

Published

on

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुलाकी एक महिला चार दिनदेखि बेपत्ता छिन् । स्थानीय वीरेन्द्र राय (छोटु) की श्रीमती अनिता देवी राय बुधबार रातिदेखि सम्पर्कविहीन भएकी हुन् ।

स्थानीयवासीले महिलाको हत्या गरिएको आशंका गरेका छन् । छिमेकी शेखर रायका छोराको विवाहमा अधिकांश स्थानीय सुनसरीको अमरवा जन्ती गएको मौका छोपेर राति केही व्यक्तिले जबरजस्ती महिलालाई उठाएर लगेको हुन सक्ने पीडित परिवारको आशंका छ ।

बेपत्ता महिलाका बाबु प्रितम रायका अनुसार महिलाका दुई छोरी छन् । जेठी छोरी सपनाको विवाह भइसकेको छ भने कान्छी छोरी १३ वर्षीया काजल पनि छिमेकीको विवाहमा गएका थिए । श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा रहेका कारण अनिता घरमा एक्लै थिइन। यही मौका छोपेर पाँच–छ जनाको समूहले उनलाई अपहरण गरेको हुन सक्ने उनको भनाइ छ ।

स्थानीय कविता रायका अनुसार घटनाको रात घरमा बलेको चिमसमेत निभाइएको अवस्थामा भेटिएको थियो । महिलाका ससुराको निधन भइसकेको छ भने सासू छोरीसँग नारायणघाटमा बस्दै आएकी छन् । अनिता कान्छी छोरीसँग बस्दै आएकी थिइन ।

घरआँगनमा रगत देखिएकाले हत्या भएको हुन सक्ने परिवार तथा स्थानीयवासीको आशंका छ । स्थानीयका अनुसार महिलाको घरमा यसअघि पनि खसी, बोका, चामल र गहुँ चोरी हुने घटना हुँदै आएका थिए ।

घटना भएको थाहा पाउनेबित्तिकै परिवार र स्थानीयले खोजतलास गरे पनि महिलाको अवस्था अज्ञात रहेको छ । त्यसपछि प्रहरीलाई जानकारी गराइएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय राजविराज तथा इलाका प्रहरी कार्यालयको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । वडा नं. ५ का अध्यक्ष ललनप्रसाद राउतले महिला नभेटिएकाले घटना शंकास्पद देखिएको बताए। उनले भने, “घरआँगनमा रगत देखिएकाले महिलाको हत्या भएको हुन सक्ने आशंका छ ।”

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले घटनाबारे जानकारी पाएलगत्तै खोजतलास सुरु गरिएको तर हालसम्म महिला फेला नपरेको जानकारी दिए । उनका अनुसार महिलाको मोबाइल घरमै भेटिएकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.