कर्णाली, बागमती र कोशीका उत्तरी भूभागबाहेक देशका अधिकांश क्षेत्रमा कम पानी पर्ने आकलन, यसपटक गर्मी पनि धेरै हुने
यस वर्ष धानबाली लगाउने वेलादेखि नै देशभर खडेरीको आकलन गरिएको छ । पोहोर बर्खाको ढेड महिना तराईमा खडेरी लागे पनि देशभर मनसुन सिजनमा भने सरदर पानी परेको थियो । तर, यसपटक भने प्रिमनसुनमा हरेक दिनजसो पानी पर्दा धेरै गर्मी बढ्न नपाए पनि बर्खाको सुरुवातबाटै गर्मी झेल्नुपर्ने र खडेरी खेप्नुपर्ने देखिन्छ ।
मौसम विभागले १८ जेठदेखि १४ असोजसम्मका चार महिना देशका अधिकांश स्थानमा कम पानी पर्ने तथा अधिकतमसँगै न्यूनतम तापक्रमसमेत सरदरभन्दा बढी रहने प्रक्षेपण गरेको हो । विभागका मौसमविद् सुदर्शन हुमागाईंले कर्णाली, बागमती र कोशीका उत्तरी भूभागबाहेक देशका अधिकांश क्षेत्रमा कम पानी पर्ने देखिएको बताए ।
‘कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश भूभाग, मधेशका पूर्वी भूभाग र कोशीका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ,’ विभागले भनेको छ । यसबाहेक सुदूरपश्चिमका अधिकांश भूभाग, मधेशका पश्चिमी र कोशीको मध्य भूभागमा पनि सरदरभन्दा कम पानी पर्नेछ । बागमती, गण्डकी क्षेत्रमा पनि सरदरभन्दा केही कम पानी पर्ने देखिन्छ । नेपालमा जेठ अन्तिम साता मनसुन भित्रिन्छ ।
खडेरी सहने धान लगाउन सुझाव
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले यस वर्ष धानखेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात (सुक्खा १, सुक्खा २, सुक्खा ३, सुक्खा ४, सुक्खा ५ र सुक्खा ६ लगायत) छनोट गर्न किसानलाई सुझाएको छ । नार्कले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै सुक्खा तथा हिले छरुवा धानखेती प्रविधि अपनाउन पनि भनेको छ ।
कहाँ–कहाँ खडेरी ?
कोशीः झापा, मोरङ, सुनसरी तथा इलाम र उदयपुरका दक्षिणी क्षेत्र
मधेशः सप्तरीका पूरै क्षेत्र तथा सिराहा, धनुषा, महोत्तरी र सर्लाहीका दक्षिणी क्षेत्र
लुम्बिनीः रुपन्देही, पाल्पा, स्याङ्जा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके
कर्णालीः सुर्खेत, सल्यान, रुकुम र रोल्पाका दक्षिणी क्षेत्र
यम बम नयाँ पत्रिका