नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै छ । हिजो आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।
एमाले उपमहासचिव लेखराज भट्टले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको जानकारी सञ्चारकर्मीहरुलाई दिएका छन् ।
भट्टका अनुसार बन्दसूचीमा अध्यक्ष ओलीले आवश्यक ठानेमा करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने बैठकले निर्णय गरेको थियो । एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले समानुपातिकको बन्द सूचीमा सचिव पद्मा अर्यालदेखि जेनजी पुस्ताकी निता घतानीसम्मको नाम प्रस्ताव गरेका छन् ।
सचिवालयको बैठकमा अध्यक्ष ओलीले पूर्वउपाध्यक्ष गुरु बराल, सचिव पद्मा अर्याल,अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्वअध्यक्ष निरु पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मन्जु चौधरीको नाम पेश गरेका थिए ।
ओलीले जेनजी पुस्ताबाट नवनिर्वाचित केन्द्रीय सदस्य निता घतानीको पनि नाम समावेश गरेका छन् । घतानीबाहेक अरु सबै यसअघि सांसद र संविधान सभा सदस्य भइसकेका छन् ।