Connect with us

अन्तर्राष्ट्रिय

युक्रेनी राष्ट्रपति जेलेन्स्की अचानक युएईमा, छलफल, भेटघाट अझै गोप्य नै

Published

on

युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गर्न शान्ति वार्ताको माग बढ्दै गइरहेको बेला युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार राति संयुक्त अरब इमिरेट्स युएई  आइपुगेका छन् ।

उता, यसै बिचमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउदी अरेबियाको भ्रमण गर्दैछन्, जसले आगामी दिनमा रुसी अधिकारीहरूसँग प्रत्यक्ष वार्ता गर्ने अपेक्षा गरिएको छ। रुबियोको भ्रमणको उद्देश्य युक्रेनमा रुसको झण्डै ३ वर्ष लामो युद्ध अन्त्य गर्नु रहेको एक अमेरिकी अधिकारीले  बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता साउदी अरबमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने संकेत गरेका थिए । रियादमा हुने वार्तामा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जको उपस्थिति रहने उक्त अधिकारीले नाम नबताउने सर्तमा बताइसकेका छन । सो भेटघाटमा विशेष दूत स्टिभ विटकफ पनि सहभागी हुने अपेक्षा गरिएको छ। रुबियोको भ्रमण राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच गत हप्ता भएको टेलिफोन वार्तापछि आएको हो। पुटिनसँगको कुराकानीमा ट्रम्पले ‘आफ्नो सम्बन्धित टोलीमार्फत तुरुन्तै वार्ता सुरु गर्न सहमत भएको’ बताएका थिए।

खासमा पुटिनसँग ट्रम्पको यो वार्तालाप २४ फेब्रुअरी, २०२२ मा युक्रेनमा भएको आक्रमणपछि रुसलाई एक्लो पार्ने अमेरिकी नीतिको विपरीत थियो। यद्यपि ट्रम्पले जेलेन्स्कीसँग पनि छुट्टै कुराकानी गरेका थिए। जेलेन्स्कीले युक्रेनको बारेमा आफ्नो देशलाई समावेश नगर्ने कुनै पनि वार्तालाई स्वीकार नगर्ने बताइसकेका छन भने युरोपेली मुलुकका सरकारले पनि यसमा भूमिका खेल्न माग गरिसकेका छन् ।

फक्स न्युज च्यानलको ‘सन्डे मर्निङ फ्युचर्स’ कार्यक्रममा बोल्दै विटकफले आफू र वाल्ट्जले राष्ट्रपतिको निर्देशनमा भेट्ने र रूस युक्रेन सम्बन्धमा केही राम्रो प्रगति हुने अपेक्षा गरेको बताएका थिए ।

यसैबीच, जेलेन्स्की जर्मनीमा म्युनिख सुरक्षा सम्मेलनमा भाग लिएर अबुधाबी आइपुगेका हुन्। उनको कार्यालयले जारी गरेको फुटेजमा उनी र उनकी श्रीमती ओलेनालाई आइतवार राति एयरपोर्टमा इमिरेट्सका अधिकारीहरूले स्वागत गरेको देखिन्छ। युद्ध सुरु भएपछि जेलेन्स्कीको यो पहिलो युएई भ्रमण हो ।

जेलेन्स्कीको कार्यालयले एक अनलाइन सन्देशमा भनेको छ, ‘हाम्रो सर्वोच्च प्राथमिकता हाम्रा धेरै मानिसहरूलाई कैदबाट मुक्त गरी स्वदेश फिर्ता ल्याउने हो, हामी लगानी र आर्थिक साझेदारीका साथै ठूलो मात्रामा मानवीय कार्यक्रमहरूमा पनि ध्यान दिनेछौं।’ यद्यपी युएईको आधिकारिक समाचार एजेन्सी वामले जेलेन्स्कीको आगमनको खबर तुरुन्तै दिइसकेको भने छैन।

युएईलाई लामो समयदेखि शान्ति वार्ताका लागि सम्भावित स्थलका रूपमा हेरिएको छ । किनभने, युद्ध सुरु भएदेखि रुस र युक्रेनबाट ठूलो संख्यामा आप्रवासीहरू यहाँ आइपुगेका छन् र इमिरेट्ससँग पनि पूर्वमा मध्यस्थताको अनुभवी देश हो । युक्रेनका अर्थमन्त्री युलिया स्विरिडेन्कोले जेलेन्स्कीको युएईको सम्भावित भ्रमण र यसअघि घोषणा गरिएको अमेरिका–रुस वार्ताबीच कुनै सम्बन्ध छ कि छैन भन्ने कुरा स्पष्ट गरेका छैनन्।

युक्रेनले यस क्षेत्रका देशहरूसँग महत्वपूर्ण आर्थिक सम्झौता गर्ने तयारी गरिरहेकोले युक्रेनी प्रतिनिधिमण्डलको ध्यान आर्थिक सम्बन्धलाई सुदृढ पार्नमा रहेको उनले फेसबुकमा पोस्टमा उल्लेख गरेका छन् । उनले जेलेन्स्कीको युएई भ्रमण र त्यहाँ कसलाई भेट्ने भन्नेबारेमा कुनै जानकारी दिएनन् ।

जेलेन्स्कीका शीर्ष सल्लाहकार एन्ड्री येर्माकले आइतवार टेलिग्राममा पोष्ट गरेका थिए कि निकट भविष्यमा युक्रेन र रुसका प्रतिनिधिहरूको प्रत्यक्ष बैठकको सम्भावना छैन।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.