नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा सर्लाहीको मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिकरानी पक्राउ परेका छन् । वडाध्यक्ष मिकरानीमाथि भारतीय नागरिकलाई नागरिकता दिलाएको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको मुद्दामा वडाध्यक्ष मिकरानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै गत वैशाख २२ गते पत्राचार गरेपछि सर्लाही जिल्ला अदालत मलङ्गवाले मङ्सिर ५ गते वडाध्यक्ष मिकरानीलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यस यता उनी फरार थिए ।
खोजतलासका क्रममा हिजो अपरान्ह उनलाई मलङ्गवा–२ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् । उनलाई पक्राउपछि अदालतबाट दुई दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धान प्रक्रिया जारी रहेकाले नागरिकता लिएका भारतीय नागरिकको पहिचान प्रहरीले खुलाएको छैन ।