७८ वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो ।
स्थानीयवासीहरु भन्दथे, “अब यो उमेरमा के नागरिकता बनाउँछौँ आमा ?” तर, यादवलाई ‘अनागरिक’ भएर मर्ने इच्छा थिएन । हिजो बुधबार जब सिरहा जिल्ला प्रशासन कार्यालयबाट उनले आफ्नो नागरिकताको प्रमाणपत्र प्राप्त गरिन, उनका आँखा रसाए । हर्ष र बेदना एकैपटक छचल्कियो । यो केवल एउटा कागजको पाना थिएन, उनको आठ वर्षको सङ्घर्ष र तिरस्कारपछिको विजय थियो ।
औरही गाउँपालिका—३ पिपरामा जन्मिएकी यादवले २०२३ सालमा नवराजपुर–४ का बौवेलाल यादवको कान्छी श्रीमतीका रूपमा भित्रिएकी थिइन । जेठी श्रीमतीका चार छोरी भए पनि कपलेश्वरीका आफ्नै सन्तान भएनन् । २०३१ सालमा श्रीमानको निधन भएपछि उनी सहाराविहीन बनिन् ।
आफ्ना नातेदार र माइतीतर्फका दाजुभाइ सबैको वंशजको नागरिकता भए पनि कपलेश्वरी भने नागरिकताको मूल ढोकामै रोकिएकी थिइन । श्रीमान्को मृत्युपछि अंशका लागि उनले अदालतमा ‘हक कायम’ मुद्दा लडेर जित्नुपर्यो । अंश मुद्दा जितेर साढे ११ धुर जग्गा त पाइन, तर त्यही जग्गाको लालपुर्जा र आफन्तका सबै प्रमाण हुँदाहुँदै पनि उनले नागरिकता पाउन सकिनन् ।
माइतीले दिएको छ कट्ठा जग्गा पनि उनकै नाममा थियो । तर, विडम्बना नागरिकता नहुँदा न उनले त्यो जग्गा बेचबिखन गर्न पाउइनन्, न आफूलाई बुढेसकालमा पाल्ने नातिको नाममा नामसारी गर्न नै सकिन् । उनको बाटोमा तगारो बनेका थिए, गाउँकै जनप्रतिनिधि । विभिन्न कारणले वडा कार्यालयले सिफारिस दिन पटक–पटक इन्कार गरिरह्यो ।
उनीमाथि ‘स्थानीय बासिन्दा नै नभएको’ झुटो मुद्दासमेत हालियो । “आफ्नै गाउँमा पराई जस्तो हुनुपर्दाको पीडा सुनाउने ठाउँ कतै थिएन,” ती दिन सम्झदै उनका नाति रामपरीक्षण यादव भन्छन् ।
कपलेश्वरीका आफूपट्टिका न त सन्तान छन्, न सहारा दिने श्रीमान् । बुढेसकालले छोप्दै ल्याएपछि उनलाई एउटै चिन्ता थियो, अब बाँकी जीवन कसरी काट्ने ? सरकारले दिने सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउन पनि नागरिकता अनिवार्य थियो । तर, वडाको दैलोबाट रित्तो हात फर्किंदा उनी धेरै पटक रुइन ।
सञ्चारमाध्यममा नागरिकता प्राप्तिको लागि उनले गरेको सङ्घर्षको कथा आएर गाउँपालिका अध्यक्ष शिवउद्गार यादवले विशेष पहल गरेसँगै आठ वर्षपछि मात्र उनको प्रशासनिक उल्झन सुल्झियो । अदालतको ढोका र प्रशासनको चक्कर सकिएपछि बल्ल उनले राज्यको नागरिक हुनुको गौरव महसुस गरेकी छन् ।
आफ्नी हजुरआमाको हकका लागि वडादेखि अदालतसम्म धाउने नाति रामपरीक्षण यादव अहिले निकै खुसी भएका छन् । उनले प्रफूल्लित हुँदै भने, “हजुरआमाले यो उमेरमा आएर न्याय पाउनुभयो, यसैमा म धेरै खुसी छु । नागरिकता नहुँदा उहाँले आफ्नो जग्गा जमिनको उपभोग गर्न पाउनुभएको थिएन र वृद्ध भत्ताबाट पनि वञ्चित हुनुहुन्थ्यो ।”
अब उनले राज्यको नागरिक हुनुको गौरव महसुस गर्न पाउनेछिन् । ”यो हाम्रो परिवारका लागि ठूलो जित हो”, नागरिकता सुम्सुम्याउँदै कपलेश्वरीले भावुक भएर भनिन्,“छोराछोरी छैनन्, सहारा दिने कोही थिएन । अब सरकारले दिने भत्ताले थोरै भए पनि ओखतीमुलो र खाने खर्च पुग्छ । कम्तीमा अब आफ्नै देशको नागरिक भएर ढुक्कले मर्न पाउने भएँ ।”
७८ वर्षको उमेरमा पाएको यो नागरिकताले कपलेश्वरीलाई केवल आर्थिक राहत मात्र होइन, एउटा परिचय र सम्मान पनि दिएको छ । आफ्नी हजुरआमाले आठ वर्ष भोग्नुपरेको सास्ती सम्झँदै नाति रामपरीक्षण राज्यसंयन्त्रलाई प्रश्न गर्छन्,“हजुरआमा जस्ता धेरै वृद्धवृद्धा अझै पनि प्रशासनिक झमेलामा अल्झिरहेका छन्, सबै प्रमाण र अदालती फैसला हुँदाहुँदै पनि एउटा नागरिकले आफ्नो परिचय पाउन किन आठ वर्ष कुर्नुपर्छ ?”