काठमाडौं उपत्यकामा बिहान झिसमिसेदेखि नै वर्षा भइरहेको छ । हिजो अपरान्ह पनि काठमाडौं उपत्यकामा हल्का वर्षा भएको थियो । वर्षा भएसँगै उपत्कालगायत सहरको प्रदुषित वायु र तुवाँलो अट्ने् जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावका कारण पाँच प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ ।
दिउँसो हिमाली क्षेत्रको थोरै स्थानमा हल्का हिमपात तथा पहाडी तराई क्षेत्रमा आंशि देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भरे राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश सहरी तथा पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाले देशव्यापी तुँवालो केही मात्रामा कम हुने देखिन्छ । चट्याङ्ग, र मेघगर्जनसहितको वर्षा, हिमपात लगायत तुँवालोका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।