नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिता असुरक्षित बन्दै गएको बताएकी छन् । आज शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय पत्रकारितामा सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको शर्माले बताइन् ।
उनले भनिन्, ‘पेशागत असुरक्षाका कारण पत्रकारले पेशामा भोग्नु परेको समस्याहरु हामीले देखेका छौं । बितेको वर्ष अझ बढी पत्रकारहरुका लागि पेशामा सुरक्षा नभएको महसुश महासंघले गरेको छ । फिल्डमा बसेर काम गर्ने पत्रकारहरुको लागि अझ बढि सुरक्षा नभएको जस्तो लागेको छ ।’
शर्माले पत्रकार माथि दुर्व्यवहार र सञ्चार माध्यममाथि भएका अक्रमणका घटनामा अहिले पनि दण्डहिनताको अवस्था रहेको सुनाइन् । उनले यस्ता घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेकी छन् । विश्रवभर नै बढ्दो प्रविधिले मिडियामा कस्तो असर पारेको छ, यसले गर्दा पनि पत्रकारहरु असुरक्षित भएका हुन् कि भन्ने बारेमा पनि महासंघले छलफल गर्न लागेको उनले जानकारी दिएकी छन् ।