Connect with us

अर्थ

उर्जामन्त्रीको दाबीः `२०३५ सम्म २८, ५०० मेगावाट विद्युत उत्पादन गर्छौं´

Published

on

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) का महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सगरमाथा संवादमा सहभागिताकालागि औपचारिक भ्रमणमा नेपाल आएका महासचिव ला क्यामेरालाई ऊर्जा मन्त्रालयमा स्वागत तथा धन्यवाद दिदैँ मन्त्री खड्काले स्वच्छ ऊर्जा प्रवर्द्धनमा आइरेनाको विश्वव्यापी नेतृत्वको उच्च प्रशंसा गरे । 

मन्त्री खड्काले आइरेनाको भूमिकाले विश्वव्यापी ऊर्जा रूपान्तरणलाई नयाँ दिशा दिएको उल्लेख गर्दै नेपाल स्वच्छ, समावेशी र जलवायु–अनुकूल ऊर्जा प्रणालीको निर्माणप्रति दृढप्रतिबद्ध रहेको स्पष्ट पारेका छन ।

शिष्टाचार भेटका क्रममा मन्त्री खड्काले नेपालको ऊर्जा नीति पेरिस सम्झौता, दिगो विकास लक्ष्य ७ (सस्तो र स्वच्छ ऊर्जा) र लक्ष्य १३ (जलवायु कार्य) सँग सुसंगत रहेको जानकारी गराए । 

साथै, निजी क्षेत्रको लगानी प्रोत्साहन, ऊर्जा स्रोतको विविधीकरण र राष्ट्रिय ग्रिडको आधुनिकीकरणका लागि नेपाल सरकारले नीतिगत तथा संस्थागत सुधारको दिशामा अघि बढाइरहेको उल्लेखसमेत गरे ।

उनले जलविद्युत् नेपालको ऊर्जा क्षेत्रको मेरुदण्ड भएको बताउँदै करिब ६२ गिगावाट क्षमताको जलविद्युत् सम्भावना रहेको तर सो मध्ये ठूलो हिस्सा अझै उपयोग हुन बाँकी रहेकोले आइरेनासँगको सहकार्यद्वारा जलविधुतको दिगो विकाससँगै सौर्य, वायू, हरित हाइड्रोजनजस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको प्रवर्द्धनमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे । 

पाल सरकारले हालै स्वीकृत गरेको “ऊर्जा विकास मार्गचित्र”ले  सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन क्षमता पुर्याउनुका साथै प्रशारण तथा वितरण प्रणालीमा विद्युत व्यापार विस्तार गर्ने एवं नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका विविध पक्षहरुको समग्र विकास गर्ने लक्ष्य लिएको चर्चा गरेका थिए ।

भारत र बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापारबाट क्षेत्रीयस्तरमा स्वच्छ ऊर्जाको उपयोग विस्तारमा नेपालले अग्रणी भूमिका खेल्न सक्ने औँल्याउँदै मन्त्री खड्काले यसले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास अभिवृद्धि भएको र क्षेत्रीय ऊर्जा एकीकरणको सम्भावना अझ सुदृढ भएको धारणा व्यक्त गरेका छन् । 

नेपालले आइरेनासँग जलविद्युत्, सौर्य, वायू, ग्रिड एकीकरण, अफ(ग्रिड ऊर्जा पहुँच तथा हरित हाइड्रोजन प्रविधिमा दीर्घकालीन सहकार्य विस्तार गर्ने प्रस्ताव अघि सारेको जानकारी पनि सो अवसरमा गराए ।

मन्त्री खड्काले उचाइमा बसोबास गर्ने तथा जलवायु–संवेदनशील क्षेत्रका समुदायहरूलाई समेटेर न्यायसंगत ऊर्जा रूपान्तरणको दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। साथै, यस यात्रामा आइरेनाको प्राविधिक सहयोग, ज्ञान आदानप्रदान तथा क्षमता अभिवृद्धिमा सहकार्य अत्यन्तै महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

भेटका क्रममा आइरेनाका महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले नेपालसँग दीर्घकालीन ऊर्जा साझेदारी गर्न संस्था इच्छुक रहेको बताउनुभयो। उहाँले नेपाल जस्तो जलविद्युत् र स्वच्छ ऊर्जामा सम्भावनायुक्त मुलुकसँग सहकार्य गर्नु आइरेनाको प्राथमिकतामा पर्ने उल्लेख गर्दै, “नेपालको अग्रसरताले नवीकरणीय ऊर्जा प्रवर्द्धनमा दक्षिण एशियाली क्षेत्रलाई प्रेरणा दिनेछ। हामी जलविद्युत्, सौर्य, वायू र हरित हाइड्रोजन प्रविधिमा आवश्यक प्राविधिक सहयोग, ज्ञान साझेदारी र क्षमता अभिवृद्धिको लागि प्रतिबद्ध छौं,” भने ।

साथै उनले इनर्जी ट्रान्जिसन एक्सिलरेटर फ्रेमवर्क, अवुधावी फण्ड फर डेभलपमेन्ट मास्डार फण्ड लगायतसँगको सहकार्यमा नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा लगानी वृद्धि गर्ने सकिने सम्भावना समेत औंल्याए ।

उनले नेपालको ऊर्जा रणनीति जलवायु अनुकूल र समावेशी भएको मूल्याङ्कन गर्दै आइरेनासँगको सहकार्यले नेपाललाई स्वच्छ ऊर्जा रूपान्तरणको मार्गमा थप मजबुत बनाउने विश्वास व्यक्त गरे । साथै, उनले आइरेना र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीचको सहकार्यमा केही कार्यक्रमहरु समेत अघि बढिरहेको जानकारी गराए ।

आइरेना प्रमुखको यो भ्रमण नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार, नवप्रवर्तन प्रविधिको हस्तान्तरण तथा जलवायु–अनुकूल दिगो विकासलाई सघाउन महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ। नेपाल सन् २०१७ मा आइरेनाको सदस्य बनेको हो भने हाल यस अन्तरसरकारी संस्थामा १६९ देश र युरोपियन युनियन आवद्ध रहेका छन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.