नेपाल प्रहरीले हिजो रसुवास्थित भोटेकोसीमा आएको बाढीले बेपत्ता बनाएका १९ जनाको खोजीकार्य जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली तथा नारायणी नदी किनारसम्म खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिएका छन् ।
थापाले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको बताए उन अनुसार रसुवाबाट बाढीमा परी बेपत्ता भएका प्रहरीका असई लालबहादुर श्रेष्ठको शव हिजो मङ्गलबार साँझ चितवनमा फेला परेको थियो ।
प्रवक्ता थापाले बाढीले बगाएर तल तलसम्म शव लगेको आशङ्कामा खोजी जारी रहेको बताउँदै मृत्यु भएकाहरूको सनाखत पनि अघि बढाइएको जानकारी दिए । उनका भनाइमा हालसम्म उक्त बाढीमा परी मृत्यु भएका नौमध्ये पाँच जनाको शव मात्रै सनाखत गर्न सकिने अवस्थामा छन् ।
चार वटा मानव अङ्गमात्रै फेला परेको बताउँदै उनले ती शवको भने डिएनए परीक्षण आवश्यक रहेको बताए । प्रवक्ता थापाका अनुसार अझै दुई प्रहरी, छ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् ।
“बाढीले मितेरी पुलसहित ६४ वटा सवारीसाधन बगाएको छ भने भौतिक सम्पत्तिमा ठूलो क्षति गराएको छ । बाढीको कारण यकिन भइसकेको छैन तर मौसमविद्हरूले तिब्बती क्षेत्रमा रहेको हिम पोखरीहरू फुटेको हुनसक्ने आशङ्का गरेका छन”, उनले भने ।