निरन्तरको झरीबाट आएको बाढीले सोलुखुम्बुको थामेमा पाँच घरमा पूर्ण र छ घरमा आंशिक क्षति पुगेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्ने थामे खोलामा आएको बाढीले ११ घरमा क्षति पुगेको हो ।
थामे खोलामा आकस्मिक रुपमा आएको बाढीले अघिल्लो वर्ष ठूलो क्षति पुर्याएको थियो । त्यही खोला यस पटक बहाव नै परिवर्तन गरी बस्तीमा प्रवेश गर्दा पाँच घर बगाएको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले विज्ञप्ती प्रकाशन गरी जानकारी दिएका छन् ।
बाढीका कारण बिजुलीका खम्बा र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ । पीडितहरुको उद्धार तथा राहत कार्यका लागि मानवीय सहयोग आवश्यक रहेको गाउँपालिकाको आग्रह छ ।
गाउँपालिकाले जारी गरेको विज्ञप्ति अनुसार हाल पनि वर्षा निरन्तर भइरहेकाले क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्रलगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।