Connect with us

राजनीति

प्रभु साहले भने, ‘तटस्थ र सम्मानित सभामुख समेत ‘हल्का’ र ‘विवादित’ बन्नुभयो’

Published

on

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदभित्रको निषेध, विभेद र सिण्डीकेटले सिंगो लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताएका छन् । संसदभित्रको नकारात्मक कृयाकलापले संसदको गरिमा खस्किदै गइरहेको टिप्पणी उनले गरे । 

प्रतिनिधिसभाको आज बसेको बैठकमा विशेष समयमा बोल्दै आजपा अध्यक्ष साहले तटस्थ र सम्मानित सभामुख समेत ‘हल्का’ र ‘विवादित’ भइरहेको बताउदै संसद् संसद् जस्तो नभएको अनुभुति सुनाए । 

‘आजकाल संसद् संसद् जस्तो छैन् । संसद्भित्रको नाकारात्मक कृयाकलापले संसद्को गरिमा खस्किदै गइरहेको हामीले देखिरहेका छौं । तटस्थ र सम्मानित सभामुख समेत हल्का र विवादित भइरहेको हामीले हेरिरहेका छौं,’ आजपा अध्यक्ष साहले भने, ‘संसदभित्रको निषेध, विभेद र सिण्डीकेटले सिंगै लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ । राज्य र सरकारलाई नियमन गर्ने राज्यको सर्वोच्च निकाय संसद्मा निषेध कतिको उचित छ भन्ने प्रश्न गर्न चाहन्छु ।’ 

सानो दलहरुमाथि संसदमा निषेध भइरहेको उनको आरोप पनि उनको छ । यदी निषेध गरिएको होइन भने राज्य व्यवस्था समितिमा एक सिट भएको दललाई किन निषेध गरिएको भन्दै प्रश्न उठाएका छन् । अहिले एक सिट भएका तीन वटा दलहरुलाई राज्य व्यवस्था समितिमा किन निषेध गरिएको भन्दै जवाफ माग गरेका छन् । 

‘संवैधानिक समितिहरु, सार्वजनिक सुनुवाई समिति लगायतका कयौं संवैधानिक समितिहरुमा एक सिटवाला सांसद भनेर निषेध गरिएको छ, के त्यसलाई नै लोकतन्त्र भन्छ ? त्यो निषेध होइन भने के समानता हो ? के त्यो प्रतिस्पर्धा हो भनेर प्रश्न उठछ । हैन प्रतिस्पर्धा हो निषेध होइन भने त्यसले के सन्देश दिन खोजेको हो भन्ने प्रश्न उठछ,’ आजपा अध्यक्ष साहले भने । 

संसदभित्र सत्तापक्ष र प्रतिपक्षकै आधारमा विभेद भइरहेको उनले बताए । साहले प्रश्न गर्दै भने, ‘के एक सिट हुदैमा पछाडी बस्नुपर्ने ? सत्तापक्षमा भएपछि के अगाडी बस्नुपर्ने ? सिट पलानिङको कुनै मापदण्ड हुनुपर्छ कि पर्दैन ? हामी हेरिरहेका छौं, सिट १७ वटा छ । त अगाडीबाट १७ जोडेर अर्को १७ गरी एउटा न्यायिक ढंगले गर्नुपर्छ कि पर्दैन ? तर आज ठुलोले सानोलाई हेप्ने, विभेद गर्ने, निषेध गर्ने जो खेल भइरहेको छ, संसदभित्रको यो खेलले देशको जनतालाई कसरी आश्वस्त गर्ने ? यो सरकार र यहाँका नेतृत्व लोकतन्त्रप्रति प्रतिबद्ध छ, प्रतिस्पर्धामा विश्वास गर्छ । सानोको पनि सम्मान गर्छ भन्ने भाव त कतै देखिएन सभामुखज्यू ।’

ठुलो दल उभ्यो भने संसद अवरुद्ध हुने तर दुई दलले ७० दिनदेखी संसद बहिष्कार गर्दा समेत अवरुद्ध नहुने बताउँदै संसद बहिष्कार गर्ने दलहरुसँग सरकारले वार्ता, छलफल पनि गर्न नचाहनु संसदभित्र ठुला दलको दम्भ भएको बताए ।

साहले २०६३ सालदेखी निन्तर सांसद रहेको, कार्यव्यवस्था समितिका साथै संसदीय व्यवस्था मन्त्रीदेखी संसदीय सभापतिको समेत जिम्मेवारी निर्वाह गरिसकेको बताउदै यस्तो विभेद आफूले कहिल्यै पनि नदेखेको उनले बताए । ६०१ सदस्यी संविधानसभा र ३० वटा दलहुँदा समेत यस्तो विभेद नभएको स्मरण उनले गरे । 

‘आज अनैतिक ढंगले, अप्राकृतिक ढंगले, अप्रजातान्त्रिक ढंगले जो गठबन्धन र जसरी सहकार्य अगाडी बढाइएको छ । सानालाई निषेध गर्ने, लोकतन्त्रलाई निल्ने, जहाँ पनि सिण्डीकेट खडा गर्ने जो काम भइरहेको छ, त्यो धेरै लामो जादैन । यसले संसद्को गरिमालाई घटाइरहेको छ । संसदको सम्मानलाई घटाइरहेको छ । लोकतन्त्रमाथि नै प्रश्न उठाइरहेको छ । यसमा गम्भिर ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.