अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ । अधिवक्ता प्रेमराज सिलवालले राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश उल्लंघन गरेको भन्दै कार्कीविरुद्ध अवहेलना निवेदन दर्ता गरेका हुन् ।
सिलवालको निवेदन स्वीकार गर्दै सर्वोच्च अदालतले यही मंसिर ७ गतेको पेसी तोकेको छ । राजदूत फिर्ताको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेशलाई बेवास्ता गर्दै प्रधानमन्त्री कार्कीले पुनः राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन गरेको पत्राचारले अदालतको आदेशलाई ठाडो चुनौती दिएको दाबी रिट निवेदनको छ ।
जेनजी आन्दोलनको बलमा गठित सरकारले ३० असोजमा अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्धको रिटमा कात्तिक १६ गते सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरिदिएको थियो ।
आदेशको भोलिपल्टै प्रधानमन्त्रीकै मातहतमा रहेको परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन भन्दै पुनः पत्राचार गरेको थियो । प्रधानमन्त्रप् कार्की पूर्वप्रधानन्यायाधीशत हुन् ।