Connect with us

समसामयिक

त्रिविले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

Published

on

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका अतिरिक्त क्रियाकलापमा देखाएको प्रतिभा र योगदानको समेत अङ्क प्राप्त गर्ने भएका छन् । विश्वविद्यालयले देशमै पहिलोपटक अतिरिक्त क्रियाकलापलाई औपचारिक रूपमा शैक्षिक अङ्कभार (एकाडेमिक क्रेडिट) मा समावेश गर्ने नीति अघि सारेको छ ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा दीपेन्द्र पराजुलीका अनुसार विद्यार्थीले सामाजिक सेवा, विपद् व्यवस्थापन, खेलकुद, ललितकला, विज्ञान–प्रविधि, नवप्रवर्तन, उद्यमशीलता तथा व्यवस्थापनजस्ता क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेमा त्यसको मूल्याङ्कन गरी शैक्षिक प्रमाणपत्रमै अङ्कका रूपमा समावेश गरिनेछ ।

उनले भने, “विद्यार्थीले विश्वविद्यालयभित्र वा बाहिर प्रतियोगिता, कार्यक्रम वा अवसरमा उत्कृष्ट प्रदर्शन गरेको प्रमाणपत्र पेस गरेकै भरमा अङ्क प्रदान गरिँदैन । त्यसअघि विद्यार्थीको सम्पूर्ण गतिविधि केन्द्रीय संयन्त्रमार्फत अनुगमन, अभिलेखीकरण र प्रमाणीकरण गरिनेछ ।”

यस प्रयोजनका लागि प्रत्येक क्याम्पसस्तरमा राष्ट्रिय सेवा योजना, राष्ट्रिय सेवा दल, उपकुलपति कप खेलकुद, ललितकला तथा विज्ञान, नवप्रवर्तन, प्रविधि र उद्यमशीलता कार्यक्रमका संयोजकहरूले हरेक सेमेस्टरमा विद्यार्थीको सहभागिता, संलग्न समय (घण्टा) तथा कार्यसम्पादनसम्बन्धी आधिकारिक अभिलेख पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । ती विवरणहरू त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट प्रमाणीकरण र स्वीकृत गरिनेछ ।

साथै, विद्यार्थीका सम्पूर्ण गतिविधि, सहभागिता घण्टा र प्राप्त क्रेडिट अङ्क अभिलेख गर्न केन्द्रय डिजिटल प्रणाली विकास गरिनेछ । गुगल फर्म÷गुगल सिटमा आधारित एकीकृत ड्यासबोर्डमार्फत विद्यार्थीगत रूपमा आर्जित क्रेडिट, कार्यक्रमअनुसार आवश्यक घण्टा पूरा गरेका विद्यार्थी तथा क्याम्पसहरूबीचको तुलनात्मक अवस्था स्पष्ट रूपमा देखिनेछ । केन्द्रीय रूपमा अनुगमन र प्रमाणीकरण भइसकेपछि मात्र विद्यार्थीले पेस गरेको प्रमाणपत्रका आधारमा प्राप्त उपलब्धि उनीहरूको शैक्षिक प्रमाणपत्रमा अङ्कका रूपमा समावेश गरिनेछ ।

यस नीतिबाट विद्यार्थीको समग्र ग्रेड वृद्धि हुनेमात्र नभई विभिन्न क्षेत्रमा लुकेका प्रतिभाको पहिचान, विकास र संस्थागत प्रोत्साहनमा ठूलो सहयोग पुग्ने डा पराजुलीले बताए । विश्वविद्यालयले शैक्षिक कार्यक्रममा समावेश गरिसकेको राष्ट्रिय सेवा योजना, राष्ट्रिय सेवा दल, उपकुलपति कप खेलकुद, ललितकला तथा आइटिएई कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू यस प्रणालीबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

त्यसैगरी, हरेक केन्द्रीय विभागमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई शिक्षण सहायक वा अनुसन्धान सहायकका रूपमा नियुक्त गरी विश्वविद्यालयभित्रै सेवा गर्ने अवसर प्रदान गर्ने नीति पनि अघि सारिएको छ । साथै, विश्वविद्यालय बाहिर विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गरेका विद्यार्थीलाई भर्ना प्रक्रियामा विशेष सुविधा प्रदान गर्ने व्यवस्थासमेत प्रस्ताव गरिएको छ ।

यस सम्बन्धमा अवधारणापत्र तयारीको चरणमा रहेको जानकारी दिँदै डा पराजुलीले उक्त नीति प्राज्ञिक परिषद्बाट पारित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउने बताए । “देशमै पहिलोपटक अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभारमा समावेश गर्दैछौँ”, उनले भने ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.