प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सुदन किरातीले उक्त पार्टी परित्यागको घोषणा गरेका छन्। किरातीले यसअघि नै राजीनामा दिएको बताइए पनि उनले आज बुधबार पार्टी त्यागेको बताएका हुन्।
‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु। संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेकाले जस्तोसुकै परिस्थिति आए पनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने उनले बताएका छन्। ‘मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु,’ उनले भनेका छन्।
जेनजी विद्रोहपछि किराती तत्कालीन माओवादी केन्द्र त्यागेर प्रलोमा जोडिएका थिए।
