प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या लगायत आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशद्धय नहकुल सुवेदी (विद्यावारिधि) र सारंगा सुवेदीको संयुक्त इजलासले आज शुक्रबार अपरान्ह प्रसाईंलाई रिहा गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन् । प्रसाईलाई प्रहरीले ४ मंसिरमा भक्तपुरको कमेरेटारस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
आफ्ना बावुलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै उनका छोरा डा. निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए। उक्त रिटको सुनुवाई गर्दै सर्वोच्चले प्रसाईँलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
प्रसाईँलाई प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा पक्राउ गरेको थियो। तर, अस्ति २७ मंसिरमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले साईबर अपराधमा प्रसाईंसँग ४० हजार धरौटी लिएरु रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाएर रिहा हुनेबित्तिकै प्रसाईँलाई (केन्द्रीय अनुसन्धान ब्युरो) सिआइबीले संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
सिआईबीले प्रसाईंविरुद्ध भारतमा मानिस राखेर बैंकर तथा व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरिरहेको थियो।