Connect with us

अर्थ

१७ वर्षमा दक्षिण कोरिया पुगे एक लाख बिस हजार युवा

Published

on

कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) सञ्चालनमा आएको १७ वर्षमा एक लाख २० हजार नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् । नेपाल र कोरिया सरकारबिच इपिएसमार्फत नेपाली श्रमिक लैजाने सम्झौता अनुसार सन् २००८ देखि हालसम्म एक लाख १९ हजार ७६८ जना नेपाली युवा दक्षिण कोरिया पुगेका हुन् ।

कोरिया र नेपाल सरकारबिच सन् २००७ मा इपिएसमार्फत नेपाली युवा कोरिया लैजाने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार सन् २००८ देखि नेपाली युवा इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान थालेकोमा सात हजार ३६५ महिलासहित एक लाख १९ हजार ७६८ जना दक्षिण कोरिया गएर रोजगारी प्राप्त गरेको वैदेशिक रोजगार विभाग इपिएस रोजगार शाखाले जनाएको छ ।

शाखाका अनुसार इपिएसमार्फत कोरिया जान कोरियन भाषा परीक्षामा अहिलेसम्म नौ लाख १९ हजार ६३१ युवाले आवेदन दिएका छन् । सन् २०२४ का लागि अहिलेसम्मकै बढी एक लाख ८३ हजार बढीले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । सन् २०२५ का लागि पाँच हजार तीन सय नेपाली श्रमिकको माग आएकोमा उत्पादनतर्फ तीन हजार पाँच सय जना र कृषि तथा पशुपालनतर्फ एक हजार आठ सय जनाको माग आएको इपिएस कोरिया शाखाले जनाएको छ ।

सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार ९८४ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका भएकाले पनि कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा बनिरहेको छ । नेपालले इपिएसबाट श्रमिक पठाउन थालेयता सबैभन्दा धेरै सन् २०२३ मा १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका थिए । सन् २०२४ मा नौ हजार २८५ जना दक्षिण कोरिया गए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले कम लागत र अन्य देशमा भन्दा धेरै कमाइ हुने भएकाले युवाको प्राथमिकतामा दक्षिण कोरिया पर्ने गरेको बताए । “कोरियाले श्रमिक लैजाने प्रक्रिया एकदमै पारदर्शी छ । सरकारबिचको सम्झौतामार्फत पठाउने भएकाले सुरक्षित पनि छ,” उनले भने, “अन्य देशमा जाँदा लाग्ने भन्दा इपिएस प्रक्रियामार्फत असाध्यै कम लागत र धेरै आर्जन हुने भएकाले कोरिया नेपाली युवाको पहिलो रोजाइ मै पर्छ ।”

दक्षिण कोरिया सरकारले इपिएसमार्फत नेपालसहित इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्बेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ ।

इपिएस शाखाका अनुसार अहिले पनि दक्षिण कोरियामा झन्डै ६०/६१ हजार नेपाली श्रमिकले काम गरिरहेका छन् । दुई देशबिचको रोजगार सम्झौता हरेक दुईरदुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लो पटक सन् २०२२ मा सम्झौता नवीकरण भएको थियो । त्यसपछि २०२४ मा हुनुपर्ने हालसम्म हुन सकेको छैन ।

कोरियाले यसअघि कृषि, पशुपालन तथा उत्पादनमूलक क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकामा यस वर्ष पानी जहाज निर्माणको क्षेत्रमा पनि नेपालीलाई लिन थालेको इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार दक्षिण कोरियाले गत वर्षदेखि सेवा क्षेत्र, रुट इन्डस्ट्री र वनक्षेत्रमा पनि श्रमिक माग गर्न थालेको छ ।

विभागका महानिर्देशक भट्टराईले नेपाली श्रमिक इमानदार र मेहनती हुने भएकाले कोरियाले नेपालबाट नै सबैभन्दा धेरै श्रमिक लैजाने गरेको बताए । कोरियाले नेपाललाई सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको भन्दै पुरस्कृतसमेत गरेको थियो ।

इपिएसमार्फत दक्षिण कोरियामा पुगेका नेपाली युवाले साना उद्योग, कृषिक्षेत्र र पानीजहाज बनाउने काम गर्दै आएका छन् । कोरिया गएका नेपालीले मासिक न्यूनतम तीन लाखदेखि बढीमा छ लाख रुपियाँसम्म कमाइ गर्न सक्ने जनाइएको छ । श्रमिकको कामको प्रकृति, ओभरटाइमलगायतले पनि कमाइ कति हुने निर्धारण हुने गरेको छ । इपिएस शाखाका अनुसार दक्षिण कोरियामा एक श्रमिकको न्यूनतम कमाइ साढे दुई लाखबाट सुरु हुने गरेको छ ।
सीता शर्मा/गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.