भदौ २४ गतेको जेनजी विध्वंसका क्रममा नेपाल प्रहरीबाट लुटिएको हतियार राईफलसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले कैलाली टिकापुरका शिवराज धमलालाई प्रहरीबाट लुटिएको ३ थान हतियारसहित तारकेश्वरबाट पक्राउ गरेको हो।
धमलाले प्रहरीलाई नै ग्राहकका रुपमा सुरुमा पेस्तोल विक्री गर्न खोजेका थिए। अपरिचित भेषमा प्रहरी ग्राहक बनेर धमलासमक्ष पुगेको थियो। ग्राहक बनेर गएको प्रहरी र धमलाबीच सुरुमा हतियार हेर्ने र त्यसपछि कतिमा किन्ने भन्ने सहमति भयो।
बिक्रीका लागि हतियार देखाएका धमलालाई जब ग्राहककर्ताले हतकडी लगाइदिए। अनि मात्र उनी झूस्याङग भए । प्रहरीले उनको कोठामा खानतलासी गर्दा थप दुई वटा ठूला हतियार पनि बरामद गर्यो ।
धमला पठाओ चालक हुन्। उनलाई प्रहरीले आज बुधबार पक्राउ गरेको हो। उनीसँग थप सोधपुछ र अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिएका छन् ।