जापानको उत्तरपूर्वी क्षेत्रमा गएराति आएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट न्यूनतम ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो । तर अहिले उक्त चेतावनी हटाइएको छ । यद्यपि तटमा ७० सेन्टिमिटर उँचो लहर देखिएको छ । केही रेल सेवा रोकिएका छन् भने हजारौंको घरमा बिजुली गएको छ ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार अधिकारीहरुले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउनसक्ने चेतावनी दिएका छन् । तसर्थ मानिसहरुलाई कम्तिमा एक सातासम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
जापानकी प्रधानमन्त्री सनाई तकाइचीले भनिन्, ‘भूकम्पलाई लिएर आफ्नो तयारी फेरि गर्नुहोस् । यदि झट्का महशुस भयो भने तत्काल घरबाट निस्कनका लागि पनि तयार हुनुहोस् ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार करिब ९० हजार मानिसलाई आफ्नो घरबाट निस्किन तयार रहन निर्देशन दिइएको छ ।