जिल्ला अदालत रौतहटले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।
जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । पहिलो संविधानसभाको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा जिल्ला अदालतबाट आलम दोषी ठहर भएका थिए ।
सर्वोच्च अदालतको आदेशबाट घटनाको १२ वर्षपछि १९ असोज २०७६ आलमलाई रौतहट प्रहरीले पक्राउ गरेको थियो । आलमलाई सफाइ दिने उच्च अदालतले फैसलामा लेखेको छ,
‘पीडित आफैं घटनाको व्यहोरा सहित प्रहरीमा किटानी उजुर गर्दा समेत प्रहरी र सरकारी वकिलले मुद्दा हेर्ने अदालतमा मुद्दा नचलाउदा त्यो अवस्थामा पीडितले न्याय पाउने मौलिक हकबाट बञ्चित हुन पुग्छ ।’