देशका ७५ जिल्लामा ६ हजार ६ सयभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांक अनुसार ६ हजार ६ सय ६८ जनामा डेङ्गु पुष्टि भएको हो । पाँच डेङ्गु सङ्क्रमितको मृत्यु समेत भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा।गोकर्ण दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढि बागमती प्रदेशमा पुष्टि भएको छ । बागमतीमा एक हजार ६४९ जनामा डेङ्गु भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा एक हजार ६३१, लुम्बिनीमा एक हजार ११७, कोशीमा ८९६, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४ र मधेशमा १३९ जनामा डेङ्गु पुष्टि भएको छ ।
चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन् ।
त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ । डेङ्गु भएको बेलामा चिकित्सकको सुझावमा मात्र औषधी सेवन गर्न डा. पुनले आग्रह गरे ।
ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्न उनले अनुरोध छ । डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन चिकित्सकले आग्रह गरेका छन् ।