Connect with us

समसामयिक

मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोह सक्रिय, चोरीपछि फिरौती माग्दै फिर्ता गर्दै

Published

on

विराटनगरबाट शृंखलाबद्ध मोटरसाइकल चोरी गरी भारतमा बेच्ने समूहका दुई सदस्य पक्राउ परेका छन्।

मोरङ प्रहरीले विराटनगर महानगरपालिका-१७ का १७ वर्षीय मोहम्मद सोयल आलम र २४ वर्षीय मोहम्मद नौसाद अन्सारीलाई पक्राउ गरेको हो।

मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न उनीहरूलाई सार्वजनिक गरेको छ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार आलम र अन्सारी ६ वटा मोटरसाइकलसहित विराटनगर-१५ स्थित नेपाल-भारत सीमा दरैया/टिकुलियाबाट पक्राउ परेका हुन्।

‘विराटनगरमा मोटरसाइकल चोरीका घटना बढेपछि हामीले अनुसन्धान थालेका थियौं,’ चिमरियाले भने, ‘यस क्रममा नजाम अन्सारी नाम गरेको व्यक्ति केही समयअघि पक्राउ परेका थिए।’

नजामलाई पक्राउ गरी अनुसन्धान गर्दा उनी नेपालबाट मोटरसाइकल चोरी गरी भारतमा लगेर बिक्री गर्ने मुख्य नाइके रहेको खुलेको थियो।

‘उनले केही पीडितहरूको नम्बर पत्ता लगाई सम्पर्क गरी फिरौती रकम माग गर्ने र सवारी साधन फिर्ता गर्ने गरेको समेत पाइएको छ,’ चिमरियाले भने। उनलाई चोरी तथा आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरिएको थियो।

तर, चैत महिनामा फेरि मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको थियो। यसक्रममा थप दुई युवक मोटरसाइकल चोरीमा संलग्न रहेको भेटिएको चिमरियाले बताए।

चैत महिनामा यी दुई व्यक्तिले ११ वटा मोटरसाइकल चोरी गरेको पाइएको छ। अनुसन्धान अनुसार उनीहरूले अस्पताल, होटल, जिल्ला अदालत, मालपोत कार्यालयलगायत भिडभाड  हुने कार्यालयहरूको पार्किङस्थल र सुनसान क्षेत्रमा पार्किङमा राखिएका मोटरसाइकलहरू चोरी गर्ने गरेका थिए। 

चोरी गर्न आउँदा उनीहरू सिटी सफारीमा आउँथे। चोरीपछि छुट्टाछुट्टै मोटरसाइकलमा भारत जाने गर्थे।

उक्त गिरोहका व्यक्तिहरू नेपाली भए पनि भारतीय भूमिमा बसोबास गर्ने गरेको खुलेको चिमरियाले बताए।

उनीहरूले चोरी गर्दा प्राय: मध्यान्ह १२ बजेदेखि साँझसम्मको समय छनोट गरिरहेका थिए। उनीहरूले पुराना सुपर स्पेलेण्डर, होण्डा साइन, एफजेड, डिस्कभरजस्ता मोटरसाइकल बढी चोरी गर्ने गरेका थिए।

चोरी गर्दा उनीहरूले ‘मास्टर के’को प्रयोग गर्ने गरेका थिए। नेपालबाट चोरी गरेको मोटरसाइकल उनीहरूले भारतमा लगेर सस्तो मूल्यमा बेच्ने गरेका थिए।

चोरीमा संलग्न दुबैलाई हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ। प्रहरीले हराएको भए मोटरसाइकलको विवरण उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।  


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.